Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुष्प मेलामा अवलोकनकर्ताको गुनासो– स्वदेशीभन्दा विदेशी फूल धेरै देखिए

बुधबार, मंसिर ७, २०७९
काठमाडौं– ललितपुरको जावलाखेल खेल मैदानमा जारी १५औं गोदावरी पुष्प मेलामा विदेशबाट आायातित फूललाई बढी प्राथमिकता दिइ प्रदर्शनीमा राखिएको भन्दै अवलोकनकर्ताहरुले गुनासो गरेका छन्। कार्तिक ३ गतेदेखि सुरु भएको प्रदर्शनीमा विदेशबाट ल्याइएका फूलहरु बढी मात्रामा प्रदर्शनीमा राखिएको अवलोकनकर्ताहरुले गुनासो गरेका हुन्। मेला अवलोकन गर्न पुगेकाहरुले काठमाडौंका सबै नर्सरी एकै स्थानमा भएर अवलोकनका लागि र फूल किन्नका लागि छान्न पाए पनि यस वर्ष विगतको तुलनामा ३० प्रतिशत भन्दा धेरै फूलको मूल्य महंगो रहेको बताए। दक्षिणकालीबाट मेला अवलोकनका लागि आइपुगेका राजाराम पौडेलले फूलसम्बन्धी मेला राख्नु राम्रो भएपनि नेपालमै उत्पादन भएका फूलभन्दा विदेशबाट आयात गरिएका फूलहरु मेलामा धेरै भेटिएको बताए। फूलमा आत्मनिर्भर बन्नका लागि सरकारले हरेक गाउँगाउँमा गएर अध्ययन गरी स्थानअनुसार फूलको उत्पादनलाई जोड दिन आवश्यक रहेको बताए। ‘यस्तो फूलसम्बन्धी मेला राख्नु राम्रो हो, तर धेरैजसो विदेशबाट आयात गरेको फूलहरु देखियो। फूलका कुन विरुवालाई प्रोत्साहन गर्न सकिन्छ, त्यसको अध्ययन भएर, नेपालकै बीउलाई प्रोत्साहन गर्ने हो भने गाउँगाउँमा गएर सरकारले अध्ययन गर्न जरुरी छ,’ पौडेलले भने। त्यस्तै, अर्का अवलोकनकर्ता जीवन श्रेष्ठले मेलामा पूरै काठमाडौंका नर्सरीहरुको अवलोकन गर्न सकिने भएकाले राम्रो लागेको बताए। उनले मेलामा विदेशबाट आयात गरिएका महंगा फूलहरु पनि राखिएको बताए। अर्का अवलोकनकर्ता पुष्पा सिंहले विगतको तुलनामा यसवर्ष फूलको मूल्य २५ देखि ३० प्रतिशत महंगो भएको सुनाए। गत वर्ष ५ सय रुपैयाँमा पाउने फूललाई यस वर्ष हजार रुपैयाँसम्म परेको सिंहले बताए। व्यवसायीहरु भने पहिलाको तुलनामा यस वर्ष फूलको व्यापार धेरै नै भएको बताउँछन्। ओम नर्सरीकी पुष्पा घिमिरेले पहिलाको तुलनामा यस वर्ष धेरै फूल बिक्री भएको बताइन्। नेपाल फूलमा आत्मनिर्भर बन्न प्रविधिको आवश्यक रहेको र त्यसमा सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ। अर्का व्यवसायी सुमन महर्जन अहिले पुष्प व्यवसायमा गुणस्तरमा प्रतिस्पर्धा भन्दा पनि मूल्यमा धेरै प्रतिस्पर्धा भइरहेको गुनासो गर्छन्। अर्का व्यवसायी सुवास लामा मेलामा नयाँ ग्राहकका लागि चिन्ने अवसर हुने बताउँछन्। मेलाहरुले ग्राहकहरुलाई पनि एकै ठाउँमा रोजीरोजी फूल किन्न पाउने अवसर प्रदान गरेको लामाको भनाइ छ। नेपालमा तिहारका लागि गत वर्ष करिव १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो। यो वर्ष करिव साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एसोसिएसन नेपालको अनुमान छ। मेला आज आइतबार सकिँदैछ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:२५
प्रतिक्रिया दिनुहोस्