Nic Ad Nic Ad
Nic Ad Nic Ad

नागढुंगा सुरुङ परियोजनामा ढिलाइ: तीन वर्षमा ४४ प्रतिशत काम, अब ९ महिनामा सकिएला ?

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– कोरोना महामारी र स्थानीयको अवरोधका कारण नागढुंगा सुरुङमार्ग परियोजना तोकिएको समयभित्र सम्पन्न नहुने देखिएको छ । वि.सं २०७६ कात्तिक २८ गतेदेखि औपचारिक रुपमा निर्माण सुरु भएको परियोजना ४२ महिनाभित्र निर्माण गरिसक्नु पर्ने सम्झौता थियो । तथापि, निर्माण थालिएको झन्डै तीन वर्ष बितिसक्दा परियोजनाको आधा काम पनि सकिएको छैन् । हालसम्म उक्त परियोजनाको ४४ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक माधव अधिकारीले जानकारी दिए । उनका अनुसार, सम्झौता बमोजिम परियोजना निर्माण पूरा गर्नुपर्ने अवधि सन् २०२३ अप्रिल वा २०७९ चैतसम्म मात्र हो । तथापि, कोरोना महामारी लगायतका कारणले निर्माण कार्यमा बाधा पुगेको भन्दै झन्डै तीन महिना अर्थात ८६ दिन समय थप भइसकेको छ । थप स्वीकृत समयावधि गरी अब परियोजना सम्पन्न गर्न जम्मा ९ महिना बाँकी छ । थप समयावधिभित्र पनि परियोजना निर्माण सम्पन्न गर्न कठिन हुन सक्ने परियोजनाकै कर्मचारी बताउँछन् । ‘तोकिएको अवधिभित्र परियोजनाको सम्पूर्ण काम सम्पन्न गर्न नसकिए पनि यत्ति नै समय बढी लाग्छ भनेर यकिन गर्न सकिँदैन ।’ उनले भने ।  परियोजना यति नै समयभित्र सम्पन्न हुन्छ भनेर भन्न नसकिने उनले बताए । ‘काम भइरहेको छ, अघि बढ्दैछ । बीचमा समस्या पनि आइरहेका छन् । यसअघि कोरोना महामारीले काम सोचेजसरी अघि बढ्न सकेन’ उनले भने, ‘त्यसकारण यत्ति नै समयमा सकिएला भन्न सकिने अवस्था छैन् ।’ टनेलको खण्डमा पनि सुरुवातमा जुन डिजाइन भएको थियो,  त्यसमा केही तलमाथि हुन सक्ने कारणले पनि केही बढी समय लाग्न सक्ने उनले बताए । परियोजना निर्माणको अवधि लम्बिए पनि लागत भने त्यति नबढ्ने उनले बताए । किनकी, लागत मूल्य ‘फिक्स’ नै हुन्छ ।  सुरुङमार्ग तर्फ ६७ प्रतिशत प्रगति परियोजनाको मुख्य सुरुङमार्ग करिब २ हजार ६८८ मिटर पर्छ । त्यसमध्ये अहिलेसम्म  १ हजार ६२८.८ मिटर टनेल खनिसकिएको छ । अक्टोबर २२, २०२२ सम्ममा सुरुङमार्ग निर्माणमा करिब ६७ प्रतिशत भौतिक प्रगति रहेको अधिकारी बताउँछन् । त्यस्तै, समानान्तर रुपमा जाने आकस्मिक (इर्मजेन्सी) टनेल २ हजार ५५७ मिटरमध्ये १ हजार ८४२ मिटर टनेल खनिसकिएको छ । दुईवटै टनेललाई जोड्ने (क्रस प्यासेज) १२८ मिटरमध्ये ७४ मिटर सम्पन्न भइसकेको अधिकारीले जानकारी दिए । सुरुङमार्ग निर्माण जापानिज कम्पनी हाज्मा हान्दो जेभीले पाएको छ । कोभिड महामारीका बेला निर्माणमा समस्या आएको भन्दै कम्पनीले ४१६ दिन म्याद थप्न प्रस्ताव गरे पनि आयोजना कार्यालयले भने ८६ दिन मात्रै म्याद थप गरी स्वीकृत गरिसकेको छ । त्यसबाहेक १२६ मिटरको वर्किङ अडिटको काम भने सम्पन्न भएको छ ।  वित्तीय प्रगति ४७ प्रतिशत परियोजनाको ठेक्का १५ अर्ब र मुआब्जाबापत ६ अर्ब भन्दा बढी गरेर कुल लागत करिब २२ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । हालसम्म परियोजना निर्माणमा १० अर्बभन्दा बढी खर्च भइसकेको छ । परियोजनाको वित्तिय प्रगति मोबिलाइजेसनसहित ४७ प्रतिशत पुगेको निर्देशक अधिकारीले बताए ।  सुरुङमार्ग सञ्चालनमा आएपछि नौबिसेबाट काठमाडौं २० देखि २५ मिनेटमा आइपुग्ने अनुमान छ । १२ मिटरको चौडाइको सुरुङमार्गको दायाँबायाँ पैदलयात्रीका लागि समेत छुट्टै फुटपाथ पनि निर्माण हुनेछ ।  अवरोध र मुआब्जा समस्या उस्तै परियोजना अघि बढाउँदै जाँदा आवश्यक पर्ने जग्गा अधिग्रहण र मुआब्जा वितरणमा निम्तिएको समस्या अहिलेसम्म पनि टुंगिन सकेको छैन् । बेला बेला परियोजना निर्माणमा स्थानीय बासिन्दाको अवरोध र तोडफोड पनि परियोजना निर्माणमा थप ढिलाई भइरहेको स्वंयम अधिकारी बताउँछन् । खासगरी, धादिङतर्फ त्रिभुवन राजमार्गको भित्तापट्टी ‘वाल’ लगाउन त्यहाँको जमिन अधिग्रहण गर्न सकिएको छैन् ।  त्यहाँका स्थानीयले करिब १०० मिटरको जग्गाको मुआव्जा दिनुपर्छ भन्दै अवरोध गरिरहेको छन् । उक्त जग्गा सडक विभागअन्तर्गतकै पर्ने परियोजनाको दाबी छ । वाल लगाउन नपाउँदा पश्चिमतर्फ पर्ने ठाउँ पिँच गर्न नपाएको उनले बताए । धादिङखण्डमै करिब ४ वटा स्थानीयका घर अधिग्रहण गर्नुपर्नेमा अदालतमा परेको मुद्धाका नटुंगिएका कारण घरवालाले घर भत्काएका छैनन् । यसबाहेक काठमाडौंतर्फ पनि त्यहाँका स्थानीय बासिन्दाले परियोजना निर्माणका क्रममा पटक पटक अवरोध गर्दै आएका छन् ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्