जेरार्डको स्थानमा एम्री भिल्लाको नयाँ म्यानेजर नियुक्त
एजेन्सी । प्रिमियर लिग क्लब एस्टन भिल्लाले उनाई एम्रीलाई नयाँ म्यानेजर नियुक्त गरेको छ। स्टेभन जेरार्ड बर्खास्तीमा परेसँगै क्लबले आर्सनलका पूर्व म्यानेजरलाई नियुक्त गरेको हो।
स्पेनिस क्लब भिल्लेरियालको नेतृत्वसमेत सम्हालेका एम्रीले नोभेम्बर १ देखि क्बलको नेतृत्व सम्हाल्ने छन्। फुलहमसँग ३-० को हार बेहोरेसँगै क्लबले गत हप्ता जेरार्डलाई बर्खास्त गरेको थियो। उनको स्थानमा हाल एरन डांक्सले अन्तरिम रुपमा क्लबको नेतृत्वमा सम्हालिरहेका छन्।
९ सयभन्दा बढी खेलमा म्यानेजरका रुपमा काम गरेका एम्रीले आर्सनललाई युरोपा लिगको फाइनलसम्म पुर्याएका थिए। सेभिया र पेरिस सेन्ट जर्मेनमा रहँदा उनले धेरै सफलता हात पारेका थिए। सेभियासँग उनले सन् २०१३ देखि २०१६ सम्म लगातार ३ वटा युरोपा लिगको उपाधि जितेका थिए भने पीएसजीसँग लिग वानको उपाधिसँगै २ फ्रेन्च कप, २ फ्रेन्च लिग कप र २ ट्रफीस डेस च्याम्पियन्सको उपाधि जितेका थिए।
सन् २०२० मा भिल्लेरियालसँग आबद्ध भएका उनले क्लबलाई सन् २०२०-२१ को युरोप लिगको उपाधि दिलाएका थिए। स्पेनिस क्लब गत वर्षको च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो।