मधेश प्रदेशका २३ स्थानीय तहले बजेट ल्याउन सकेनन्
जनकपुरधाम— आर्थिक वर्ष शुरु भएको तीन महिना बित्दा पनि मधेश प्रदेशका २३ स्थानीय तहले अझैसम्म नीति तथा कार्यक्रम सहितको बजेट ल्याउन सकेका छैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७५३ स्थानीय तहमध्ये बजेट नल्याउनेमा मधेश प्रदेशका २३ र लुम्बिनी प्रदेशका तीन स्थानीय तह रहेका छन् । अन्य सबै प्रदेशका स्थानीय तहले आफ्नो बजेट ल्याइसकेका जनाइएको छ ।
लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा पर्ने गैडहवा गाउँपालिका, दाङको राजपुर गाउँपालिका र बाँकेको डुडुवा गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् ।
मधेश प्रदेशमा सिराहाको मिर्चैया नगरपालिका, औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, धनुषाका धनुषाधाम नगरपालिका, नगराइन नरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका र धनौजी गाउँपालिकाले हालसम्म पनि बजेट ल्याएका छैनन् ।
त्यस्तै, महोत्तरीको सोनमा गाउँपालिका, सर्लाहीका मलंगवा नगरपालिका र विष्णु गाउँपालिका रहेका छन् । रौतहटका कटहरीया नगरपालिका, दुर्गा भगवती गाउँपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका र यमुना माई गाउँपालिका रहेका छन् । बाराका महागढीमाई नगरपालिका र पचरौता नगरपालिकाले हालसम्म चालु आर्थिक वर्ष २०७९/८० को बजेट पेस गरेका छैनन् ।
पर्साको धोबिनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिकाले बजेट ल्याउन सके का छैनन् ।
स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रम नगर तथा पालिका सभामा पेस गरी असार मसान्तसम्म पारित गरिसक्नु पर्ने व्यवस्था छ ।
कतिपय नगरपालिकाले नीति तथा कार्यक्रम सहितको बजेट ल्याए पनि आन्तरिक विवादका कारणले कार्यान्वयन गर्न सकेका छैनन् । कतिपय पालिकामा आन्तरिक विवादका कारणले खाता पनि सञ्चालन हुन सकेको छैन ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:५७
प्रतिक्रिया दिनुहोस्