Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले अध्यक्ष ओलीद्वारा बहिनीहरुबाट भाइटीका ग्रहण

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाएका छन् । बिहीवार भाइटीकाको अवसरमा शुभ साइतमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका ग्रहण गरेका हुन। ओलीले बालकोटमा भाइटीकाको शुभसाइत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरुबाट ग्रहण गरेकाे उनकाे सचिवालयले जनाएको छ । त्यस अवसरमा उनले बहिनीहरुले दिएका कोशेली ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाई दिए । यम पञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदिबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ । टीका ग्रहणपछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा अध्यक्ष ओलीले भाइटीकाले दिदिबहिनीहरुसँग मिल्ने अवसर जुराएको बताए । हरेक चाडपर्वको महत्व फरक फरक हुने भन्दै चाडपर्वको संरक्षण र सम्वर्धन गर्न जरुरी रहेको बताए । हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासलाई सबै नेपालीले संरक्षित गर्नु अहिलेको आवश्यक्ता भएको बताए । उनले भने, ‘हाम्रा चाडपर्व अत्यन्त महत्वपूर्ण छन् । मलाई पनि विभिन्न ठाउँबाट मेरा दिदिबहिनीहरु आएर टीका लगाइदिनुभएको छ । मैले पनि टीका लगाइदिएको छु । आज भाइटीकाको दिन हुँदैन थियो भने दिदिबहिनीहरुसँग यस्तो भेटघाट हुँदैन थियो । यो भेटघाट भाइटीकाको कारणले सम्भव भयो ।’ हाम्रा संस्कृति, सभ्याता इतिहास संरक्षण गर्न जरुरी भएको अध्यक्ष ओलीले बताए । अध्यक्ष ओलीले नेपाली चाडपर्वहरु महत्वपूर्ण र विशेषताहरुले भरिएको भन्दै यसको संरक्षणमा जुट्न पनि सबैमा आह्वान गरे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:१०
प्रतिक्रिया दिनुहोस्