Nic Ad Nic Ad
Nic Ad Nic Ad

 देउसी भैलोको पैसाबाट अक्षयकोष बनाइने

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – चितवनमा विद्यार्थीले देउसी भैलोबाट उठेको पैसाले अक्षयकोष स्थापना गर्ने भएका छन् । चितवनका मगर विद्यार्थीले तिहारमा देउसी भैलो खेलेर जम्मा भएको चार लाख ५० हजार रुपैयाँको मगर विद्यार्थी अक्षयकोष स्तरोन्नति गरिने भएको हो । नेपाल मगर विद्यार्थी सङ्घ चितवन र नेपाल मगर सांस्कृतिक सङ्घ जिल्ला समिति चितवनको आयोजनामा कात्तिक ७ गते देखि १२ गतेसम्म देउसी भैलो खेलिएको थियो । सङ्कलन भएको रकमको ५० प्रतिशत जिल्लाको मगर विद्यार्थी अक्षयकोष र ५० प्रतिशत मगर विद्यार्थी सङ्घमा राखिने आयोजकले जनाएको छ । मगर विद्यार्थी अक्षयकोषका सचिव मिलन थापामगरले अक्षयकोषबाट बर्सेनि जेहेन्दार, विपन्न, प्रतिभाशाली बालबालिकालाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्दै आएको बताए। कोषको स्तरोन्नतिले थप सहयोग मिल्ने उनको भनाइ छ । उनले भने, “२०७५ सालमा जिल्लामा करिब रु पाँच लाखको अक्षयकोष स्थापना भएको हो, यसको ब्याजले प्रत्येक वर्ष ३०–३५ जनालाई शैक्षिक सामग्री सहयोग गर्छौँ भने केहीलाई छात्रवृत्ति दिँदै आएका छौँ ।” संस्कार, संस्कृति, परम्परा संरक्षणसहित अक्षयकोष स्तरोन्नतिका लागि गरिएको यस देउसी भैलो कार्यक्रममा चुट्का, कौडा, सोरठीजस्ता गीत र नृत्यमा कलाकारले प्रस्तुति दिएका थिए । देउसी भैलो कार्यक्रम भूँयरथान मगर समाज, जखडीमाई मगर समाज भरतपुर १२, ज्ञानोदय मगर समाज भरतपुर ९, सूर्योदय मगर समाज भरतपुर ८, चन्द्रएकता मगर समाज क्षेत्रपुर, मगर सङ्घ कालिका नगर समिति, सोनी लाफा मगर समाज खैरेनी ३, मगर उत्थान समाज राप्ती ७, मगर समाज दिव्यनगर भरतपुर २६, मगर समाज शारदानगर भरतपुर २०, मगर समाज मुस्लिनसहित १९ ठाउँमा गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्