३ गुणाले बढ्यो विद्युतीय सवारीको आयात
काठमाडौँ - ३ महिनामा नेपालमा ७०५ वटा विद्युतीय सवारी साधन आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिना साउन, भदौ र असोजमा ७०५ वटा विद्युतीय सवारी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९-८० मा विद्युतीय ४ पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ। सरकारले यो वर्ष महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाएको छ।
तर, पेट्रोल सवारीको आयात रोकिएका बेला विद्युतीय सवारीको आयात भने करिब ३ गुणाले बढेको छ । ३ महिनामा २ अर्ब ५० लाख रुपैयाँ मूल्यको इलेक्ट्रिक गाडी आयात भएको भान्सर विभागको तथ्याङ्कमा उल्लेख गरेको छ ।
यस्तो आयातबाट सरकारले ६२ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। ३ महिनामा १ अर्ब ९१ करोड मूल्य बराबरको १०० किलोवाटसम्मका ६८६ वटा विद्युतीय सवारी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
त्यसैगरी १०० देखि २०० किलोवाटसम्मका १७ वटा र २०० देखि ३०० किलोवाटसम्मका २ वटा बिजुली गाडी नेपाल भित्रिएका छन्।