टी–२० विश्वकप क्रिकेट: इंग्ल्यान्डद्वारा न्युजिल्यान्ड २० रनले पराजित
काठमाडौँ— अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ चरणको आजको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले पराजित गरेर सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
इंग्ल्यान्डले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा २० ओभरमा न्युजिल्यान्डले ६ विकेटको क्षतिमा १५९ रन मात्र बनाउँदा इंग्ल्यान्डले जित हात पारेको हो ।
टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १७९ रन जोडेको थियो । इंग्ल्यान्डका जस बटलरले सर्वाधिक ७३ रनको योगदान गरे ।
न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रन र कप्तान केन विलिम्सनले ४० रनको योगदान गरेता पनि टोलीको जितका लागि पर्याप्त हुन सकेन ।
सुपर १२ चरणको समूह १ मा सबै टोलीले ४/४ खेल खेलेका छन् ।
आजको हारका बाबजुद पनि राम्रो रन रेटका कारण न्युजिल्यान्ड ५ अङ्कसहित अङ्कतालिकाको शीर्ष स्थानमा यथावत् छ । इंग्ल्यान्ड र अस्ट्रेलिया समान ५ अङ्कका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । श्रीलङ्का भने ४ अङ्कसहित चौथो स्थानमा रहेको छ ।
समूह १ मा १/१ खेल खेल्न बाँकी रहँदा यी चार ओटै टोलीको सेमिफाइनल पुग्ने सम्भावना छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १३:५९
प्रतिक्रिया दिनुहोस्