बैंकहरुलाई ब्याज उठाउन सकस
काठमाडौँ । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ अर्ब ५८ करोड ब्याज उठाउन सकेका छैनन् । बैंकहरूको ब्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यसपटक ४० प्रतिशतले बढेको भएता पनि वाणिज्य बैंकहरुले भने ब्याज उठाउन सकेको छैन ।
आर्थिक वर्ष २०७८-७९ को दोस्रो त्रैमासबाट देखिएको तरलता अभावको कारणले व्यवसायमा परेको अल्पकालिन र दीर्घकालिन प्रभावहरूले वित्तीय क्षेत्रको कर्जाको साँवा तथा ब्याज असुलीमा पनि नकारात्मक असर परेको बैंकहरुले बताएको छ । जसको कारण बैंकहरुले ब्याज उठाउन सकेको छैन ।
अघिल्लो वर्ष ३५ अर्ब ५५ करोड रूपैयाँ ब्याज आम्दानी गरेका बैंकहरूले यसपटक ४९ अर्ब ४९ करोड रूपैयाँ आम्दानी गरेका छन्। बैंकहरूले यसरी उठाएको ब्याज रकमको ३५.५३ प्रतिशत बराबर रकम उठ्न बाँकी देखिएको छ।
सबै ब्याज उठाउन सकेको अवस्थामा बैंकहरूको ब्याज आम्दानी ६७ अर्ब सात करोड पुग्ने छ।
बैंक तथा वित्तीय संस्थाले नउठेको ब्याजको ६३ प्रतिशत रकम नियामकीय प्रावधानको रूपमा राख्नु पर्ने व्यवस्था छ। वाणिज्य बैंकहरूले ११ अर्ब आठ करोड रुपैयाँ यस्तो प्रावधानमा राखेका हुन्।