बार्सिलोनाका डिफेण्डर जेरार्ड पिकेद्वारा सन्यास घोषणा
एजेन्सी। बार्सिलोनाका डिफेण्डर जेरार्ड पिकेले खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले शनिबार घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाका लागि अन्तिम खेल खेल्दै बिदा हुने घोषणा गरेका छन् ।
उनले क्याटलान क्लबका लागि शनिबार अन्तिम खेल खेल्ने छन् । पिकेको अन्तिम खेलमा बार्सिलोनाले ला लिगा अन्तर्गत अल्मेरियासँग खेल्नेछ। पिकेले बार्सिलोना छाड्ने घोषणासँगै तत्काल लागु हुने गरी सन्यास घोषणा गरेका हुन्। उनले बिहीबार भावुक भिडियो पोष्ट गर्दै आफू सधैँ बार्सिलोनाको समर्थक हुने जनाएका छन्।
‘मैले सधैँ भन्दै आएको छु कि बार्सा बाहेक त्यहाँ अर्को कुनै टिम हुने छैन र अब पनि त्यही हुनेछ । आउने शनिबार क्याम्प नोउमा मेरो अन्तिम खेल हुनेछ,’ उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै भनेका छन्।
३५ वर्षीय पिकेले सन् २०१८ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए भने क्लब फुटबललाई निरन्तरता दिएका थिए। बार्सिलोनाका लागि उनले ला लिगा, च्याम्पियन्स लिग, कोपा डेल रे, स्पानिस सुपर कप, युइएफए सुपर कप र क्लब विश्वकपको उपाधि जितेका छन् ।
१८ वर्षे खेलाडी करियरमा उनले ३५ उपाधि जितेका छन् । पिकेले पछिल्लो डेढ दशक विश्वकप फुटबलमा सुपर स्टारका रुपमा रहेका क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी दुवैसँग क्लब फुटबलमा खेलेका थिए ।