हरिबोधिनी एकादशीमा बुढानिलकण्ठमा तिर्थालुको बिहानैदेखि भिड (तस्बिरहरू)
काठमाडौं - कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछन् । उक्त पर्वको अवसरमा आज बुढा निलकण्ठमा विहानैदेखि तिर्थालुहरुको भिड लागिरहेको छ ।
वैदिक सनातन हिन्दु पात्रो ‘पञ्चाङ’ अनुरुप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्रवटा समान समय भागमा बिभाजन गरिएको छ र चन्द्रको प्रत्यक चलायमान समय भागलाई तिथी भनिन्छ । चन्द्रको अवस्थिती अनुसार तय गरिएको तिथीको एघारौं दिनलाई एकादशी भनिन्छ ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा गर्दछन् । हरिशयनी एकादशीका दिन घरमा रहेका तुलसीको मठमा विशेष पुजा गरी गाईको गोबर र रातो माटोले पोती फूल मालाले सजाएर तुलसीको विवाह गर्ने परम्परा रहेको छ ।
तुलसी वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदायक बनस्पती मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने धार्मिक मान्यता रहेको छ । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।
अन्न खान नहुने मान्यताका कारण यस दिन सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार खाने गरिन्छ । यस्तै आजका दिन काठमाडौंको बुढानीलकण्ठका साथै उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशंखुनारायण लगायत देशभरका विष्णु मन्दिरहरुमा विशेष मेला लागेको छ । बुढानिलकण्ठमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।