नेभिगेशन
जीवनयापन

निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान

काठमाडौँ— निर्वाचन प्रयोजनार्थका लागि निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सो सवारी साधन हस्तान्तरण गरेका हुन् । सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सहयोगका लागि भारत सरकार तथा भारतीय राजदूत श्रीवास्तवलाई धन्यवाद ज्ञापन गरे । नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताए । आवधिक निर्वाचन लोकतान्त्रिक प्रणालीलाई जीवित राख्न अपरिहार्य भएको उल्लेख गर्दै उनले भारत सरकारले विभिन्न समयमा दिएको सवारी साधन, निर्वाचन सामग्री तथा अन्य आवश्यक सहयोगका लागि धन्यवाद ज्ञापन गरे । समारोहमा भारतीय राजदूत श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले सवारी साधन सहयोग गरेको बताए । नेपालको छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गर्दै राजदूत श्रीवास्तवले भारत सरकारले दिएको सहयोगले आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले भारत सरकारबाट प्राप्त सहयोगले निर्वाचनको व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले यसअघिका निर्वाचनमा पनि भारत सरकारले सहयोग गर्दै आएकोसमेत स्मरण गर्नुभयो । उक्त समारोहमा निर्वाचन आयोगका आयुक्तहरू रामप्रसाद भण्डारी, डा। जानकीकुमारी तुलाधर, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको उपस्थिति थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै