विप्लवसहित तीन पार्टीले गरे आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौँ– आगामी मंसिर ४ को निर्वाचन खारेजीको अभियानसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत तीन कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपालगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले निर्वाचनको विरोधमा संयुक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
निर्वाचन खारेजीरबहिष्कारको गर्ने बताउँदै उनीहरूले आफूहरूको आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन् । यी तीन पार्टीले निर्वाचनको विरोधमा कात्तिक २४–३० गतेसम्म काठमाडौंलगायत बुटवल, इटहरी, बर्दिबास, पोखरा, सुर्खेत र धनगढीमा सभाको कार्यक्रम तय गरेका छन् ।
२६ देखि ३० गतेसम्म देशका विभिन्न स्थानमा कोणसभा र विरोध प्रर्दशन गरिने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले जानकारी दिए । अहिलको व्यवस्थाको विरुद्धमा र नयाँ व्यवस्थाको सुरुवातका लागि आफूहरूको संघर्ष भएको उनको भनाइ थियो ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले क्रान्तिपछि उपलब्ध भएका जनताको अधिकारहरू एकपछि अर्को गरी कटौटी हुँदै गएकाले अहिलेको व्यवस्थाप्रति आफूहरूको आन्दोलन भएको जिकिर गरे । मुलुकमा भ्रष्टाचार व्याप्त हुदै गएको, सामाजिक असुरक्षा हुदै गएको उनको भनाइ थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १९:५१
प्रतिक्रिया दिनुहोस्