Nic Ad Nic Ad
Nic Ad Nic Ad

म्याडम देउवा: मतदातासँग सधैँ 'मनी' र 'पावर' काे धाक

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ–प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले शनिबार डडेलधुरको आफ्नो गृहपालिका गन्यापधुरा गाउँपालिकाको सभालाई सम्बोधन गर्दै गर्दा ‘हेलिकप्टरमा चढेर आउन सक्नेलाई मात्र भोट दिनुस्’ भनेर सार्वजनिक रूपमा नै भनिन् । उनले आफ्ना पति प्रधानमन्त्री देउवालाई भोट माग्दै गर्दा यसो भनेकी हुन् । उनको यो भनाइलाई लिएर सामाजिक सञ्जाल तातेको छ । त्यस्तै, यसको सर्वत्र विरोध पनि भइरहेको। उनले के आधारमा यसो भनिन्, यो उनलाई नै थाहा होला तर यसरी मतदातालाई सिधै ‘पावर र पैसा’को धाक लगाएर मत माग्नु अराजनीतिक चरित्र भएको टिप्पणी हुन थालेको छ । कतिपयले उनले यो शैली राणाकालीन प्रवृत्तिको जस्तो भएको पनि टिप्पणी गर्छन् । अहिले जनता धेरै नै सचेत भई सकेका छन् तर आरजूले अझै पनि जनतालाई धाक दिएर, पैसा र पावर देखाएर नै मत मागिरहेकी छन् । उक्त सभामा उनले भनेकी थिइन्– ‘यो गाउँ–ठाउँलाई बनाउने कांग्रेस नै हो । आज हामी हेलिकोप्टरमा आयौं । आजभन्दा १०–१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा आउनसक्ने क्षमता भएका मान्छेलाई छान्नुस् । नेपाली कांग्रेसको रूख छापमा तपाईँहरूकै गाउँको शेरबहादुर देउवाजीलाई जिताइनुस् ।’ आरजूका यस्ता खालका अभिव्यक्तिहरू विवादित भएको पहिले चोटी भने होइन । यसअघि पनि गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला डडेल्धुरामा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले नजितेको स्थानमा बजेट नपठाउने विवादित अभिव्यक्ति दिएकी थिइन् । यसरी बजेट नै नदिने भन्नुको अर्थ उनले मतदातालाई ‘हेरौँ न अरुलाई भोट दिइस् भने के गर्छु’ भन्न खोजेकी थिएन् । यसरी मतदातालाई धम्काएर नै उनले आफ्नो वर्चस्व देखाउने गर्दैै आएकी छन् । स्थानीय निर्वाचनकै भोट माग्ने क्रममा कैलालीको धनगढी उपमहानगरपालिकामा पनि उनले मतदातालाई वैदेशिक रोजगारीका लागि मलेशिया पठाइ दिने लोभ दिँदा चर्चामा आएकी थिइन् । यसैगरी प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गर्दा आरजुले डडेल्धुराबासीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सहज पहुँच बढेको बताएकी थिइन् । उनले डडेल्धुराबासीले ‘खुलजा सिमसिम’ भन्ने बित्तिकै बालुवाटारको ढोका खुल्ने बताएकी थिइन् । उनी जस्तो, शिक्षित र परिपक्व व्यक्तिले मतदातालाई थर्काउने, धम्काउने र पावरको धाक देखाउने शैलीलाई कांग्रेसकै नेता तथा कार्यकताहरूले मन पराएका छैनन् । आरजूको मत माग्ने यो शैलीले कांग्रेसको छवि बिग्रिने र मत घट्ने हो कि भन्ने चिन्ता उनीहरूमा देखिएको छ । जनता शिक्षित छन् र उम्मेदवारका हरेक भनाचइ र गराइलाई सुक्ष्म ढंगले नियालीरहेको अनुभूति आरजूजस्ता ‘परिपक्व’ नेताले बुझ्नु जरुरी छ । पटक पटकको विवादित अभिव्यक्ति र धाक धम्कीको राजनीतिले मतदाता नै भड्किने सक्ने अवस्था नआउला भन्न सकिन्न । कुन उम्मेदवारलाई भोट दिँदा आफ्नो गाउँ ठाउँको विकास हुन्छ भनेर विवेकपूर्ण तरिकाले मतदान गर्न सक्ने अधिकार स्वयं मतदातालाई छ । तर पनि मतदातालाई ‘आदिम युग’को सम्झनु आरजूजस्ता उम्मेदवारका लागि प्रत्युत्पादक हुन सक्छ । जसरी मतदाता ‘अपडेट’ भइरहेका छन्, डा. देउवा पनि अपडेट हुन जसरी छ । बागमतीमा धेरै पानी बगिसकेको उनले अब बझ्नुपर्छ र विकासको एजेण्डा लिएर विकास गरेर मात्र मतदातालाई रिझाउन सक्नुपर्छ । तर सधैँ पैसा, पावर, धाकधम्की देखाएर मत माग्न कहाँ पाइन्छ र ? तर ‘म्याडम देउवा’ भने यस्तै गरिरहँदा ‘सर देउवा’का लागि कति घातक होला भन्ने तर्फ पनि उनले ध्यान दिनु पर्ला कि ?  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार