श्रीलङ्काका क्रिकेटर धनुष्कालाई धरौटीमा रिहा गर्न अस्वीकार
एजेन्सी । श्रीलङ्काका क्रिकेटर धनुष्का गुनाथिलाकालाई सोमबार सिड्नीको अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ। न्यायाधीश रोबर्ट विलियम्सले धनुष्काको यसअघि कुनै पनि आपराधिक रेकर्ड नभएको ‘नोट’ गरे पनि धरौटीमा रिहा गर्न भने अस्वीकार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
धनुष्कालाई आइतबार सिड्नीको होटलबाट बलात्कारको आरोपमा पक्राउ गरिएको थियो। उनी टी–२० विश्वकप खेल्न अस्ट्रेलिया पुगेका थिए। श्रीलङ्काली क्रिकेट टोलीका बाँकी सदस्य भने स्वदेश फर्किसकेका छन्।
घटनाबारे श्रीलङ्का क्रिकेट (एसएलसी)का अध्यक्ष शामी सिल्भाले धनुष्कालाई सहयोग गरिरहेको बताउँदै थप प्रतिक्रिया दिन अस्वीकार गरेको जनाइएको छ।
सोमबार नै बोर्डले धनुष्कालाई सबै खाले क्रिकेटबाट निलम्बित गरेको थियो। बोर्डले धनुष्कामाथि लागेको आरोपको तीव्र सुनुवाइका लागि आवश्यक कदम चाल्ने र अदालतबाट दोषी ठहरिए आवश्यक कारबाही गर्ने पनि जनाएको छ।
बोर्डले खेलाडीले गर्ने यस्ता कार्यमा शून्य सहनशीलता अपनाउने स्पष्ट पार्दै अस्ट्रेलियाको नियामक निकायलाई निष्पक्ष छानबिनका लागि सहयोग गर्ने पनि जानकारी दिएको छ।