सडकमा म्यादी प्रहरी
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सरकारले एक लाखभन्दा बढी म्यादी प्रहरी खटाएको छ । यस चुनावका लागि एक लाख १५ हजार म्यादी प्रहरी मैदानमा परिचालन गरिएको छ । संघीय र प्रादेशिक निर्वाचन हुने बेलासम्म चाहिँ ५ लाख बढी नयाँ मतदाता थपिएको अवस्थामा म्यादी प्रहरीको संख्या बढाइएको हो ।
नेपालमा संविधानसभा निर्वाचनयता म्यादी प्रहरी परिचालन गर्न थालिएको हो । पछिल्लो २ स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा पनि म्यादी प्रहरी भर्ना गरिएको थियो । निर्वाचनमा परिचालित म्यादीलाई प्रहरीको ‘सुरक्षा सहयोगी’ का रूपमा खटाइन्छ ।
नेपाल प्रहरीको दरबन्दी ७९ हजार हो । तर नियमित कार्यालय ड्यूटीबाहेक ६२ हजारभन्दा कम जनशक्ति मात्रै निर्वाचन सुरक्षामा खटिनसक्छन् । विगतमा कारागारमा कार्यरत सुरक्षाकर्मीहरुलाई पनि चुनावमा खटाउने गरिएको थियो । अब उनीहरु त्यहीँ हुने निर्वाचनको सुरक्षार्थ खटिनुपर्ने भएको छ ।
गृह मन्त्रालयले बनाएको निर्वाचन सुरक्षा कार्यविधि अनुसार मतपेटिकाको सुरक्षामा नेपाल प्रहरीको टोली खटिन्छ, त्यसपछिको घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहन्छन् । मतदान स्थलको सुरक्षाका लागि बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना खटिन्छन् ।
चुनावमा म्यादी प्रहरीका लागि सरकारले पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । ४० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले तलब, रासन, पोसाकलगायत सबै भत्तासहित जोडेर झन्डै ५० हजार रुपैयाँ हाराहारी तलब प्राप्त गर्नेछन् । उनीहरुले प्रतिदिन ८६९ रुपैयाका दरले पारिश्रमिक पाउने छन् । यसपटक दुर्गम जिल्लामा खटिनेका लागि केही सेवा सुविधा थप गरिएको छ ।
म्यादी प्रहरीले पनि अन्य जवान सरहको सुविधा पाउनेछन् । उनीहरूले ४० दिनका लागि कम्तीमा ४९ हजार दुई सय ६० रुपैयाँ तलब प्राप्त गर्नेछन् । हिमाली तथा दुर्गम क्षेत्रमा खटिनेहरूका लागि भने लगभग ५० हजार रुपैयाँ नाघ्ने छ ।
म्यादी प्रहरीलाई खाद्यन्न वापत सात हजार दुई सय रुपैयाँ उपलब्ध गराइएको छ । यस्तै पोसाकका लागि छ हजार रुपैयाँ पाएका छन् । त्यस्तै खाजा खर्च ३ सयको दरले ४० दिनको लागी उपलब्ध गराइएको छ । हिमाली जिल्लामा १५ हजार म्यादी प्रहरी खटिनेछ । हिमाली जिल्लामा खटाइने म्यादी प्रहरीका लागि ज्याकेट वापत छुट्टै १ हजार रकम दिइएको छ ।
सबै तस्वीर: लक्ष्मी धिमाल
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:२०
प्रतिक्रिया दिनुहोस्