नेपालमा विश्वकपको प्रत्यक्ष प्रसारण हुने सम्भावना न्यून
काठमाडौं - एक साता पछि कतारमा सुरु हुन लागेको २२ औँ विश्वकप फुटबल नेपाली दर्शकले प्रत्यक्ष रुपमा हेर्न नपाउने सम्भावन बढेको छ । फिफा विश्वकप प्रसारणसम्बन्धी कार्य रोक्ने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि नेपालमा विश्वकप प्रसारण अन्योलमा परेको हो।
मंसिर ४ गतेबाट कतारमा फिफा विश्वकप फुटबलसुरु हुँदैछ । मंगलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप प्रसारण सम्बन्धी कार्यलाई यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएपछि नेपालमा प्रत्यक्ष प्रसारणको सम्भावना न्यून बनेको हो ।
मिडिया हबले नेपालमा अन्य कुनै पनि विदेशी च्यानले कुनैपनि माध्यमबाट विश्वकप प्रसारण गर्न नपाउने गरी एक्सक्लुसिभ प्रसारण अधिकार लिएको छ। मिडिया हबले विश्वकप देखाउन नसक्दा नेपालभित्र अन्य कुनै पनि माध्यमबाट विश्वकप हेर्न पाउने अवस्था रहँदैन।
अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न कात्तिक ३० गते छलफलका लागि बोलाइएको छ ।
मिडिया हबले ‘पे पर भ्यू’ मोडलमा हरेक दर्शकले ५ सय रुपैयाँ तिर्नुपर्ने गरी नयाँ च्यानलमार्फत् विश्वकप देखाउने तयारी गरिरहेको थियो। दर्शकसँग अतिरिक्त शुल्क लिन नपाउने दाबी गर्दै अदालतमा परेको मुद्दामा अदालतले यस्तो आदेश दिएपछि नेपालमा विश्वकपको प्रत्यक्ष प्रसारणको सम्भावना न्यून रहेको छ ।
मुद्दामाथि सुनुवाइ गर्दै इजलासमा न्यायाधीश राउतले अर्को सुनुवाई २७ गते हुने आदेश दिएका थिए, तर एक दिन ढिला गरेर आएको लिखित आदेशमा भने मिति ३ दिन थपेर ३० गते उल्लेख गरिएको छ।
अदालतमा मुद्दाको चाप भएको हुँदा ३० गते नै मुद्दाले पालो पाउने अवस्था निकै कम छ। मंसिर ४ को उदघाटन खेलसम्म अदालती प्रकृया नटुंग्याउने गरी विपक्षीहरु अदालती प्रक्रियामा गएको हो कि भन्ने गम्भीर आशंका भएको मिडिया हबले जनाएको छ ।