टी–२० विश्व कप : फाइनल प्रवेशका लागि भारत र इङ्ल्यान्ड भिड्दै
काठमाडौँ–आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा बिहीबार भारत र इङ्ल्यान्ड भिड्दैछन् । अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने २ बजे हुने खेलमा दुवै टिम फाइनलमा पुग्न कसरत गरिरहेका छन् । टी–२० क्रिकेटमा १० वर्षपछि भारत र इङ्ल्यान्डको खेल्न लागेका हुन् । अन्तिम पटक यी दुई टोलीले सन् २०१२ मा खेलेका थिए । त्यो बेला भारतले सहज जित निकालेको थियो ।
भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।
भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाव्बेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यस्तै इङ्ल्यान्ड अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो । इङ्ल्यान्ड आयरल्यान्डसँग पराजित भएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले प्रभावित भएको थियो ।
आजको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो । फाइनल खेल आउँदो आइतवार हुनेछ ।
भारत र इङ्ल्यान्डबीच अहिलेसम्म २२ वटा टी–२० खेल भएकोमा भारतले १२ वटा र इङ्ल्यान्डले १० वटा खेल जितेका छन् । विश्व कपमा यी दुई देशबीच ३ वटा खेल भएकोमा भारतले २ वटा र इङ्ल्यान्डले एउटा खेल जितेको छ । सन् २००७ र २०१२ को विश्व कपमा भारत र २००९ मा इङ्ल्यान्ड विजयी भएको थियो ।
भारत र इङ्ल्यान्डबीच भएका पछिल्ला पाँच वटा खेलमा भारतले तीन वटा खेल जितेको छ । अहिलेसम्म भारत र इङ्ल्यान्डले एक÷एक पटक टी–२० विश्व कपको उपाधि जितेका छन् । भारतले सन् २००७ को विश्व कप र इङ्ल्यान्डले सन् २०१० को विश्व कप जितेका थिए । यस्तै सन् २०१४ को फाइनलमा भारत श्रीलङ्कासँग पराजित भएको थियो भने सन् २०१६ को फाइनलमा इङ्ल्यान्ड वेस्ट इन्डिजसँग पराजित भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:५४
प्रतिक्रिया दिनुहोस्