नेपाल–पाकिस्तान मैत्रीपूर्ण खेलको टिकट किन्ने भाग्यशालीले कतार विश्वकपको टिकट पाउने
काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा)ले कात्तिक ३० गते हुने नेपाल र पाकिस्तानबीचको खेलका लागि टिकट मुल्य एक हजार रुपैयाँ र पाँच सय रुपैयाँ निर्धारण गरेको छ । यस्तै, ८० वटा भीभीआईपी टिकट पाँच हजारका दरले बेच्ने तयारी गरेको छ ।
भीभीआईपी टिकट किन्ने दर्शकलाई नेपाली राष्ट्रिय टिमको जर्सी र सामान्य खानपिनको व्यवस्था हुने एन्फाले जानकारी दिएको छ ।
एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको जनाएको छ । एक भाग्यशाली दर्शकलाई कतारमा आयोजना हुने विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट दिइने छ । विजेता गोलाप्रथाद्वारा छनोट गरिने छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते हुनेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ । मैत्रीपूर्ण खेलको लागि पाकिस्तान २७ गते नेपाल आईपुग्ने छ ।
नेपाली टिम मुख्य प्रशिक्षक प्रवेश कटुवालको प्रशिक्षणमा बन्द प्रशिक्षणमा छ । पाकिस्तान र नेपालबीचको खेलबाट एक भाग्यशाली विजेताले गोलाप्रथामार्फत फिफा विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट जित्ने एन्फाले बताएको छ । यद्यपि, टिकटबाहेक आउने–जाने र बाँकी खर्च भने टिकट विजेता आफैंले व्यवस्थापन गर्नुपर्ने एन्फाले बताएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:१५
प्रतिक्रिया दिनुहोस्