किन टिकेन बजारमा नेपाली ‘डिजिटल प्लेटफर्म’ ?
काठमाडौं । ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा निक्कै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकहरूले मनोरञ्जनको विकल्पका रुपमा डिजिटल प्लेटफर्म रोजे । अन्तराष्ट्रिय रुपमा बजार राम्रो बनाई सकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभ लगायतका ओटीटी प्लेटफर्म दर्शकका प्रिय बने ।
नेपाली समेत उल्लेखित ओटीटीका प्लेटफर्म तर्फ आकर्षित हुँदा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिक रुपमा खर्च गर्न मिल्ने गरी कार्ड उपलब्ध गराएपछि पनि विदेशी एपमै दर्शक बढेका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपश्चात बन्द नै भयो ।
सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा फिल्म हेर्ने बाँकीको विकास गरिरहेको बताउनुभयो । “युट्युबबाट दर्शकलाई एपमा फिल्म हेर्ने बानी बसाउन केही समय निःशुल्क फिल्म समेत उपलब्ध गराएका थियौं ।
सन् २०१६ मै डिजिटल भविष्य देखेर खोलिएको सिनेमाघरमा दुई वर्ष पश्चात म संचालकको रुपमा जोडिए”, अभिनेता लामिछाने भन्छन,“नयाँ फिल्म र ओर्जिनल कन्टेनले दर्शक तान्नेमा विश्वत छौँ । हामीले त्यसको तयारी समेत थालिरहेका छौँ ।” उनले गत लकडाउनमा पुरानै फिल्ममा समेत दर्शक बढेको बताए ।
आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसकेका ओम अग्रवालले भने पाइरेसीको समस्याले ओटीटीमा जोखिम देख्छन। आफ्नै ओएसआर प्ले नामक एपको तयारी गरिरहेका अग्रवालले सुरक्षाको चुनौती रहेको बताए । “पाइरेसी गर्नेलाई कडा कारवाही नहुँदा समस्या देखिएको हो ।
युट्युबमा फ्रीमा फिल्म हेरिरहेका दर्शकलाई नयाँ फिल्म मार्फत आकर्षित नगरेका होइनौ तर लकडाउनले केही असर ग¥यो”, संचालक अग्रवालले भने । आइफ्लिक्स बन्द भएपछि उनी सहितको टिमले ओएसआर डिजिटल टिम भिडियो पसल मार्फत फिल्म दर्शक माँझ पु¥याईरेहेको छ ।
अभिनेता लामिछानेले आफ्नो एपमा चार तहको सुरक्षा रहेको जानकारी दिए। “सिनेमाघरबाट पाइरेसी गर्नेलाई सहजै समात्न सकिन्छ । हामीले केही समय अगाडी एक जनालाई सजाय समेत दिलाएका थियौँ । पाइरेसी सम्बन्धि शिक्षाको कमिले नै यस्तो भइरहेको छ”,अभिनेता लामिछानेले भने,“अहिले ओटीटीले मुनाफा दिन थालेपछि विस्तारै निर्माताहरू आकर्षित भइरहेका छन् । हामीले गत दसैँमा प्रदर्शन गरेको दुई फिल्मले राम्रो मुनाफा दिएको छ ।”
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्