Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘ब्ल्याक प्यान्थर’ र ‘उचाइ’ प्रदर्शनमा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– हलिउड सुपर हिरो फिल्म ‘ब्ल्याक प्यान्थरः वकान्डा फरेवर’ र नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएको छ । रायन कुग्लरको निर्देशनमा बनेको ‘ब्ल्याक प्यान्थरः वकान्डा फरेवर’ हलमा सर्वाधिक शोका साथ प्रदर्शन भइरहेको छ । मल्टीप्लेक्समा ५० देखि ८० प्रतिशतसम्म शो पाएको फिल्ममा दर्शकको चाप पनि उच्च छ । मार्वल कमिक्समा आधारित रहेर सन् २०१८ मा ‘ब्ल्याक प्यान्थर’को पहिलो फिल्म प्रदर्शनमा आएको थियो । उक्त फिल्मका मुख्य कलाकार चाडविक बोसम्यानको दुई वर्षअघि निधन भएको थियो । वकान्डा फरेवरमा लेटिटिया राइट, लुपिता न्योङ्गो, दनाइ गुरिरा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सुरज वज्र्यात्याको लेखन तथा निर्देशन रहेको बलिउड फिल्म ‘उचाइ’ले मल्टीप्लेक्समा २० देखि ३५ प्रतिशतसम्म शो पाएको छ । अधिकांश भाग नेपालमा छायांकन भएको फिल्ममा दर्शकको उपस्थिति ३० देखि ८० प्रतिशतसम्म देखिएको छ । अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, वोमन इरानी जस्ता बलिउडका प्रतिष्ठित कलाकारहरूको मुख्य भूमिका रहेको फिल्मको अधिकांश भाग नेपालको हिमाली क्षेत्रमा खिचिएको हो । फिल्ममा केटीको बोलको एउटा गीत पनि समावेश गरिएको छ जसमा मुख्य कलाकारले नेपाली ढाका टोपी पनि लगाएका छन् । यी बाहेक दुई हप्ताअघि भारतमा प्रदर्शन भएको बलिउड फिल्म ‘रामसेतु’ पनि शुक्रबारदेखि नेपालका केही हलमा प्रदर्शन थालेको छ । मल्टीप्लेक्समा कम शो पाएको फिल्ममा दर्शकको उपस्थिति पनि न्यून देखिएको छ । त्यस्तै नेपाली फिल्म ‘महापुरुष’ले शुक्रबारदेखि दुई हप्ता पार गरेर तेस्रो हप्तामा प्रवेश गरेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मले हलमा दुई हप्ता सफलताका साथ पार गरेको हो । फिल्मले दुई हप्तामा ७ करोडभन्दा बढी कमाइ गरिसकेको छ । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्रसिंह बानिया, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म निर्देशक भट्टराईका लगातार चौथो सफल फिल्म हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:१७
प्रतिक्रिया दिनुहोस्