पहिलो खेलमा नेपाल ८४ रनले पराजित
काठमाडौँ–संयुक्त अरब इमिरेन्ट्स (युएई) सँगको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
नेपाललाई ८४ रनको फराकिलो अन्तरले हराएसँगै युएईले तीन खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ । युएईले दिएको २६४ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।
युएईका बलरसामु निरिह बनेका नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन् । लगातार विकेट पतन भएको नेपालको इनिङ्स ओपनर अर्जुन साउद र दिपेन्द्र सिंह ऐरिले उकासेका थिए । अर्जुन र दिपेन्द्रले पाँचौँ विकेटका लागि ६८ रनको साझेदारी गरे । दिपेन्द्रले ५४ रन बनाउँदै क्याच आउट भए। दिपेन्द्रले ८४ बलमा ६ चौका हाने ।
एक दिवसीय क्रिकेटमा डेब्यु गरेक अर्जुनले अर्धशतक प्रहार गरे । ७९ बलको सामना गरेका अर्जुनले ५ चौका हान्दै ५१ रन बनाएर पवेलियन फर्के ।
युएईका आयान अफ्जल खान एक्लैले ४ विकेट झारे । एक दिवसीयमा डेब्यु गरेका उनले नेपालविरुद्ध शानदार प्रदर्शन गरे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रनको योगफल तयार पारेको थियो ।
नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । करण केसीले १० ओभरमा ५९ रन खर्चे भने सोमपालले १० ओभरमा ६३ रन दिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:२६
प्रतिक्रिया दिनुहोस्