मतदाता एउटा सुरमा, उम्मेदवार अर्कै धुनमा
काठमाडौँ– 'सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान ।'
हुन त दैवज्ञराज न्यौपानेद्वारा रचित ‘किसानको रहर’मा समावेश यो दुई हरफले मतदाताको अवस्थालाई झल्काउँछ । यो असारे कविता भएपनि अहिले पनि यो सान्दर्भिक छ । मतदाताको आफ्नै दुःख छ, आफ्नै समस्या छ ।
जनताले आफ्ना समस्या उम्मेदवार नेतालाई भनिरहेका छन् । न त उनीहरूको समस्याको समाधान भएको छ न त उम्मेदवारले चुनावी एजेण्डाको लागि दिएको आश्वासनको कार्यन्वयन सन्तोषजनक रहेको छ । त्यसैले पनि वास्तविक मतदाता (कार्यकर्ता बाहेक) पुराना नेता, पार्टी प्रति वितृष्णा जागेको छ र नयाँ विकल्प खोज्ने तयारी गरेका छन् ।
निर्वाचनको माहौल बुझ्न क्यानडा नेपालको टोली देशको विभिन्न भाग घुमेको थियो । लुम्बिनी, बागमति, मधेश र प्रदेश १ का विभिन्न निर्वाचन क्षेत्रको भ्रमण गरेको हो । यी क्षेत्रका मतदाताको विचार लिँदा अधिकाशंको स्वर एउटै थियो– आफ्नो दु:ख आफैसँग छ, उम्मेदवारले हाम्रो लागि काम नै गरेका छैनन् ।
हामी मतदाताको घरमा पुग्दा सबैले आ–आफ्नै दुःख भनिरहेका थिए । उम्मेदवारलाई उनीहरूले समस्या सुनाए पनि काम नगरेको उनीहरूको गुनासो छ ।
काभ्रेको पाँचखाल नगरपालिका वडा नं ३ का ज्ञान बहादुर थापा भन्छन्– ‘नेताले जनताको कुरा सुन्दिने भए, मान्दिने भए देशको हालत यस्तो हुने नै थिएन । यीनिहरुलाई सांसद बनाएर के काम, यीनिहरुलाई भोट दिएर केही हुने नै भएन । यी नेताले मिलेर देशलाई लिलाम गरे, देशमा केही सम्भावना पनि छैन् ।
यो देश बचाउन जङ्गी शासन आउनु पर्छ ।’ उनले देशलाई भ्यादिमिर पुटिन जस्तो नेता आवश्यक परेको बताए । ‘यदि काम गर्ने हो भने एकै वर्षमा नै देश उथलपुथल हुन्छ । तर यिनीहरू काम गर्न असक्षम भएको कारण पनि यस्तो भएको हो’, उनको भनाई छ ।
त्यसो त पाँचखाल आलुको लागि प्रख्यात ठाउँ हो । यहाँको मुख्य बाली पनि आलु खेती हो । आलु खेतीको लागि लगभग ३००० बोरा जति मल आवश्यक पर्छ । तर अहिलेसम्म सरकारले ११०० बोरा मात्र मल उपलब्ध गराउन सकेको छ । यतिले मल कसले लिने, कतिलाई पुर्याउने– थापाले भने । जनताले ठूलो कुरा माग नै गरेको छैन् । आलु खेतीको बेला बिउ र मल माग गरेको हो । तर सरकार तथा यहाँका सांसद् यति जनताको माग पनि पुरा गर्न सक्दैनन् – स्थानीयको भनाई छ ।
दोलालघाट र सुनकोशी तरेपछि पुगिन्छ कोशीपारी । यहाँ भुल्लु गाउँपालिकाको वडा नं. ५ र ७ का जनतासँग लालपूर्जा नै छैन् । उनीहरुले घर बनाएका छन्, सानो तिनो रोजगारी, व्यापार व्यवसाय गरेर जिविकोपार्जन गरिरहेका छन् । लालपूर्जा नहुँदा यहाँको जनताले बैँकबाट ऋण लिन पाएका छैन ।
यहाँ होटल व्यवसाय गरिरहेकी लक्ष्मी श्रेष्ठले भनिन्, ‘लालपूर्जा नहुँदा, ऋण लिन पाएका छैनौँ । हरेक चोटीको निर्वाचनमा तपाईहरुको यो समस्या समाधान गछौँ भन्छन्, तर अहिलेसम्म समाधान भएको छैन् ।’
भुल्लु गाउँपालिका कै ७२ वर्षीय कान्छी तामाङ आफूले सँधै भोट हाले पनि नेताले आफ्नो माग पुरा नगरेको बताउँछिन् । ‘चुनावको बेला आश्वासन मात्र दिन्छन्, त्यसपछि उनीहरूको अनुहार हेर्न फेरि पाँच वर्ष नै कुर्नु पर्छ । घर सम्म बाटो पुर्याउँछु भन्थे, तर अहिलेसम्म गोरेटो बाटोमा नै हिड्नुपरेको छ’– उनको अनुभव छ ।
सुर्य लामा भन्छन्– ‘गाउँमा रोजगारी भए राम्रो हुने थियो । नेताको त के विश्वास गर्नु भोट माग्ने बेला मात्र देखा पर्ने हुन् । तर पनि केही योजना, सिपमूलक, कृषि अनुदान दिएर रोजगारी सिर्जना गरे राम्रै हुने थियो ।’
यस्तै, हामी झापा पुग्दा अधिकांश किसानहरु धान थन्काउनमा व्यस्त रहेका थिए । उनीहरु धान काटिरहेकै अवस्थामा हामीले उनीहरुको विचार बुझेका थियौँ । च
अरू ठाउँका मान्छेहरू बेलुकीको खाना खाएपछि सुत्न ओछ्यानमा जान्छन् । तर, मेची नगरका स्थानीयहरू बेलुकीको खाना खाएपछि टर्च लिएर सडकमा निस्किन्छन् । उनीहरुले आफ्नो समस्या सुनाएको वषौँ भइसक्यो तर अहिलेसम्म समाधान हुन सकेको छैन ।
स्थानीय सेती धिमाल नेताहरूले गर्ने बाचामा विश्वास नभएको बताउँछिन् । धानको कुन्यू लगाउने ठाउँमा भेटिएकी उनले मङ्सिरमा धान पाकेको बेला कति बेला हात्ती आएर बरबाद पार्छ भन्ने चिन्ता बढिरहने बताइन ।
क्यानडा नेपालसँगको कुराकानीमा उनले भनिन्, ‘हाम्रो समस्या भनेको हात्तीले दिने दु:ख हो । अहिले धान पाकेर उठाउने बेला भएको छ । कति बेला आएर धान बाली नष्ट पार्छ भन्ने चिन्ता भइरहन्छ ।’
झापाका स्थानीय खगेन्द्र बास्तोला भन्छन्– पार्टी नराम्रा होइन, व्यक्ति को चरित्र र इच्छाशक्तिको कारण पनि जनताले सोचे जस्तो राहत र विकास पाउन सकेनन् ।
हरेक वर्ष चुनावी मौसममा उम्मेदवारले आश्वासन दिने गरेका छन् । तर, कहिले सम्म ती आश्वासन पुरा हुन नसकेको सिता राईको अनुभव रहेको छ । उनी भन्छिन्– अहिलेसम्म कुनै पनि नेताले हाम्रो समस्या सुनेका छैनन् खाली मलाई भोट मात्र दिनुस भन्छन् ।’
यस्तै, काठमाडौँ क्षेत्र न १ की स्थानीय माइली लामा भन्छिन्– हाम्रो समस्याको समाधान कहिल्यै भएन । हामी सुकुम्बासीको समस्याको पनि ठेगाना हुने रहेनछ’ उनले थपिन्, ‘विगतका वर्षहरूमा पनि हाम्रो समस्या समाधान गर्नका लागि मत मागिएकै हो। हामीले मतदान गरेकै हौँ । अहिले पनि कतिबेला बालेनको डोजर आएर बास उजाडिन्छ भन्ने पीर छ। चुनावमा त्यो पिरलाई भुलेर कसैलाई मतदान गर्नु नै पर्ला ।’
तर उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । उनीहरूको भविष्य मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तय हुने नै छ । अनि जनताले कसलाई अनुमोदन गर्लान त्यो भने हेर्न बाँकी छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०४
प्रतिक्रिया दिनुहोस्