अबको प्रधानमन्त्री को ?
काठमाडाैँ– आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको संसदीय निर्वाचन पछि आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नेको यती बेला होड नै चलेको छ ।
उम्मेदवारहरूले जनताका दैनिकीसँग सरोकार राख्ने विषयलाई भन्दा पनि भावी प्रधानमन्त्रीलाई चुनावी अस्त्र बनाउँदै मतदाता सँग मत मागेका छन् । लामो समय देखि निर्वाचित भएका तर जनताका दैनिकीसँग कहिल्यै नजोडिएकाले यसपालि जनताले मत नदेलान् भन्ने आभासले आफूलाई भावी प्रधानमन्त्रीकै रूपमा स्वघोषित गर्दै हिँडेका छन् ।
आफ्नो क्षेत्रबाट जितेको उम्मेदवार प्रधानमन्त्री बने आफ्नो क्षेत्रमा विकासको लहर छाउन सक्ने भन्दै मतदाताले मत देलान् भन्ने उम्मेदवारहरूले ठानेका छन् । तर यथावत् तथ्यले भने उम्मेदवारले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दैमा मतदाताले मत देलान् भन्न सक्ने अवस्था छैन । किनकि प्रधानमन्त्री बन्नका लागि सबै भन्दा पहिला त निर्वाचन जित्नु पर्यो । त्यस पछि पार्टीको संसदीय दलमा बहुमत ल्याएर संसदीय दलको नेता हुनु पर्यो ।
तर अहिले जनआधार नै नभएका देखि पार्टीमा संसदीय दलको चुनावमा भिड्नै नसक्नेहरूले पनि भावी प्रधानमन्त्रीलाई चुनावी अस्त्र बनाउँदा कति पय त आलोचित समेत बनेका छन् ।
एमालेले अध्यक्ष ओलीलाई नै भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा होमिएको छ । निर्वाचन पछि ओली प्रधानमन्त्री हुने सम्भावना पनि छ । केही प्रत्यक्ष र समानुपातिकमा राम्रो मत आउने अनुमान गरेको राप्रपाले सम्मानजनक सिट आए अध्यक्ष राजेन्द्र लिङदेन प्रधानमन्त्री बन्न सक्ने विश्लेषण गरेको छ ।
तर आगामी निर्वाचनमा सत्ता गठबन्धनले बहुमत ल्याएमा को प्रधानमन्त्री बन्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । निर्वाचन पछि सत्ता गठबन्धनको स्थिर सरकार बन्ने भन्दै मत मागे पनि निर्वाचन पछि को प्रधानमन्त्री बन्ने भन्ने विषय निर्वाचनको पूर्व सन्ध्यामा पेचिलो बनेको हो । निर्वाचन पछि सत्ता गठबन्धनको सरकार बनेको अवस्थामा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानै प्रधानमन्त्री बन्ने बलिया आधारहरू देखिएका छन् ।
केन्द्रीय समितिमा करिब दुई तिहाइ बराबरी बहुमत प्राप्त गरेका देउवाले टिकट वितरण गर्दा पनि संसदीय निर्वाचनमा आफूले जित्ने गरी मात्रै टिकट वितरण गरेका छन् । त्यसैले आगामी निर्वाचन पछि फेरि देउवा नै प्रधानमन्त्री बन्न सक्नेछन् । तर त्यसबाहेक आफूलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्दै मत भागेकाहरू कांग्रेस नेताहरू भने प्रधानमन्त्री बन्ने सम्भावना अत्यन्तै न्यून छ । किनकि गुट र उपगुटका सबै जसो नेताहरूले प्रधानमन्त्रीका रूपमा दाबी गर्दा फेरी देउवाले नै संसदीय निर्वाचन जित्न सक्ने एक थरीको मत छ । १४औँ महाधिवेशनमा सभापतिको पदमा शेरबहादुर देउवासँग पराजित भएका डा शेखर कोइरालाले फेरी एक पटक संसदीय दलमा प्रधानमन्त्री देउवासँग भिड्ने इच्छा देखाएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले एक पटक देशको कार्यकारी हुने इच्छा बारम्बार देखाएका छन् । सोमबार त माओवादी केन्द्रका अध्यक्ष दाहालले तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै पौडेल लाई विजय गराएको अवस्थामा आफूले प्रधानमन्त्री बनाउन पहल गर्न भन्दै तनहुँवासीलाई आश्वासन समेत दिए ।
यस्तै महामन्त्री गगनकुमार थापा,प्रकाशमान सिंह, शंशाक कोइराला, विमलेन्द्र निधि लगायतका कांग्रेस नेताहरूले पनि आफूलाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गर्दै आएका छन् । यद्यपि कांग्रेस नेताहरूले भने उम्मेदवारले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा स्वघोषित गर्दै हिँडे पनि निर्वाचन पछि पार्टी भित्र छलफल भएपछि मात्रै यसबारे निर्णय लिने जनाएका छन् ।
“राष्ट्रपति, प्रधानमन्त्री जम्मै सल्लाहबाट हुने हो । योग्य मान्छे, कर्मठ मान्छे, निष्कलङ्क साथी जो कोही पनि जान सक्छ । यी सबै पछिका कुरा हुन, यो अहिले नै परिकल्पना गर्नु पर्ने विषय होइन । यस विषयमा हामी बिच कुनै छलफल भएको छैन । निर्वाचन पछि गठबन्धनले स्पष्ट बहुमत ल्याउँछ, अनि हामी बसेर छलफल गछौं । ”— नेपाली कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठ भन्छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अन्तिम पटक प्रधानमन्त्री हुने इच्छा देखाएका छन् । ढाडमा टेकेर टाउकामा हान्ने अस्त्र प्रयोग गर्दै आएका दाहाललाई आगामी निर्वाचन पछि प्रधानमन्त्री बन्न कांग्रेस अथवा एमालेको साथ आवश्यक छ । त्यसैले निर्वाचन पछि कांग्रेस अथवा एमालेसङ संयुक्त सरकार बनाएको अवस्थामा दाहाल पनि प्रधानमन्त्री बन्न सक्नेछन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि अन्तिम पटक प्रधानमन्त्री हुने गरी तयारी गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि आगामी निर्वाचन पछि प्रधानमन्त्री बन्ने रेसमा छन् । निर्वाचनका बेला गुमनाम रहे पनि निर्वाचन पछि कम्युनिस्ट दललाई एक बनाएर कुनै एक निर्वाचन क्षेत्र खाली गरेर वामदेव गौतम पनि प्रधानमन्त्री हुने दाउमा छन् ।
पूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले पनि आगामी निर्वाचन पछि प्रधानमन्त्री हुने र देशको नेतृत्व गर्ने मनसायमा छन् । यस्तै डडेलधुरामा प्रधानमन्त्री देउवाका विरुद्धमा उम्मेदवारी दिएका सागर ढकालले पनि आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् । निर्वाचन पछि प्रधानमन्त्री हुन एक दर्जन बढीले इच्छा देखाएका बेला जनताले कस्ता उम्मेदवारलाई मत देलान् भन्ने सर्वत्र चासोको विषय बनेको छ ।
स्वतन्त्र देखि पहिलो पटक निर्वाचन फेस गरेका दलहरूले समेत निर्वाचन अघि नै भावी प्रधानमन्त्री घोषणा गर्दै मत माग्नुलाई जनताले कसरी लिएका छन् भन्ने कुरा मङ्सिर चार गते पछि नै थाहा हुने कुरा हो । स्थानीय तहको निर्वाचनमा पुराना दलको विरासतलाई भत्काउँदै स्वतन्त्र उम्मेदवारलाई मत दिएका जनताले आगामी निर्वाचनमा कसलाई प्रधानमन्त्रीका रूपमा अघि सार्लान् त ?
“ अब आउने प्रधानमन्त्री चाहिँ नयाँ अनुहार आवस । अब हामीले दुई पटक, तीन पटक, पाँच पटक टेस्ट गरिसकेकाहरुको हातमा फेरी पनि शासन सत्ता दिनु हुँदैन । ठिक छ तीनै पार्टीबाट आउन । सत्ता गठबन्धन बाट आउन कि एमालेबाट तर आउन चाहिँ नयाँ आउनु पर्यो । कम्तीमा पनि नयाँ अनुहारले केही गर्छन कि भन्ने हाम्रो झिनो आशा छ । जनताको पनि त्यहि चाहना छ । ”— राजनीतिक विश्लेषक प्रा.डा.राजेन्द्र चापागाईँ बताउँछन् ।
निर्वाचन पछि देशको नेतृत्व गर्न एक दर्जन भन्दा धेरै व्यक्तिले इच्छा देखाए पनि देशले राजनीतिक स्थिरता पाउने सम्भावना भने अत्यन्तै न्यून छ । किनकि देशमा राजनीतिक स्थिरता हुन अर्को पाँच वर्ष सम्म एकै जनताको नेतृत्व बन्न सक्नु पर्छ ।
तर निर्वाचन पछि जनतालाई राजनीतिक स्थिरताको प्रत्याभूति गराउने भन्दै मत मागेका सत्ता गठबन्धन हुन कि एमाले नेतृत्वको गठबन्धन, निर्वाचन अघि नै भावी प्रधानमन्त्रीलाई चुनावी अस्त्र बनाउँदै मत माग्नुले आगामी निर्वाचन पछि देश फेरी राजनीतिक अस्थिरत तर्फ धकिलिने धेरैको अनुमान छ ।
त्यसका साथै देशको निर्वाचन प्रणालीका कारण कुनै एक दलको बहुमत नआउने र दुई वा दुई भन्दा धेरै दलहरूले गठबन्धन गरेर सरकार बनाउँदा देशमा फेरी राजनीतिक अस्थिरताले ठाउँ पाउने जानकारहरू बताउँछन् ।
निर्वाचन पछि जो प्रधानमन्त्री भए पनि जब सम्म जनतालाई मनमा र देशलाई शिरमा राखेर काम गर्न आवश्यक छ । प्रधानमन्त्री बन्नकै लागि मात्रै प्रधानमन्त्रीको बन्नु भन्दा पनि देश र जनताको सेवा गर्न प्रधानमन्त्री बन्न आवश्यक छ ।