Nic Ad Nic Ad
Nic Ad Nic Ad

ताप्लेजुङ : हेलिकप्टर नआएपछि हिमाली चार गाउँको मतपेटिका बोकेरै मतगणनास्थलतर्फ लगिँदै

शुक्रबार, मंसिर ९, २०७९

ताप्लेजुङ– हेलिकप्टर नआएपछि ताप्लेजुङका हिमाली चार गाउँको मतपेटिकाहरु आज बिहानदेखि बोकेर मतगणना स्थलतर्फ लगिँदै छ। 

जिल्लाको सबैभन्दा टाढा रहेको फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ७ को याङ्मा र ओलाङचुङगोला, त्यही गाउँपालिकाको वडा नम्बर ६ घुन्सा र ग्याब्ला गाउँका मत‍पेटिकाहरु आज बिहानैदेखि बोकेर मतगणनास्थलतर्फ लैजाँदै गरिएको  प्रमुख जिल्ला अधिकारी महेश कुमार पोख्रेलले बताए। 

यी चार ठाउँका मत पेटिकाहरु हेलिकप्टरमार्फत् ल्याउने भनिए पनि हेलिकप्टर नआउने भएपछि बोकेर लैजान लागिएको हो। आज बिहान ५ बजे याङ्माबाट मतदान अधकृतसहितको टोलीले मतपेटिका बोकेर हिँडेको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । 

प्रमुख जिल्ला अधिकारी पोख्रेलले दुवै ठाउँका मतपेटिका आज राति १० बजे सम्ममा भेला पारेर ट्याक्सीबाट ल्याउने बताउनुभयो । याङ्मामा मतदान केन्द्रमा ६१ जना मतदाता रहेकामा १२ मत खसेको छ । याङ्माबाट आउन तीन दिन लाग्ने भए पनि आधा बाटोबाट ट्याक्सीमा लगिने भएकाले राति एक  बजे सम्ममा मतपेटिका ल्याइ पुर्याइने जनाइएको छ ।  

घुन्सामा १ सय ६९ मतदाता रहेकोमा ६० मत खसेको छ ।  ग्याब्लामा ६७ मतदाता रहेकामा २२ मत खसेको छ । जिल्लाका १ सय २३ मतदान केन्द्रहरुमा ४ वटा बाहेक १ सय १९ मतदान केन्द्रका मतपेटिका भने मुख्य निर्वाचनको कार्यालयमा ल्याइसकिएको छ । 

मतपेटिका जम्मा भएपछि भोलि बिहानदेखि मत गणना गरिने  प्रजिअ पोख्रेलले बताए । जिल्लामा ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खनालले बताए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३७
प्रतिक्रिया दिनुहोस्