Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ १ मा लगातार ४ पटकसम्म निर्वाचन जित्ने प्रकाशमान को हुन् ?

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले चौथो पटक काठमाडौँ क्षेत्र नं. १ बाट निर्वाचन जितेका छन् । २०६४, २०७०, २०७४ र २०७९ गरी उनले ४ पटक काठमाडौँ क्षेत्र नं. १ बाट निर्वाचन जितेका हुन् । 


नेपाली काँग्रेसका लौह पुरुष तथा २०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंह र नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहका छोरा प्रकाशमान सिंहलाई  पारिवारिक वातावरणले नै नेपाली काँग्रेसको राजनीतिमा ल्याएको थियो । २०१२ सालमा जन्मेका उनी नेविसंघबाट राजनीतिमा आएका थिए । २०३४ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका प्रकाशमान त्यसको दुई वर्षपछि अध्यक्षमा चुनिएका थिए ।

 

त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर सिंहले २०३९ मा त्रिचन्द्र क्याम्पसमा प्राध्यापन थालेका  सिंहलाई प्रशासनले दुःख दिन थालेपछि एक वर्षमै छाडेर पञ्चायती व्यवस्था विरुद्धको सङ्घर्षमा केन्द्रित भए । 


२०४६ सालमा पञ्चायत ढल्यो । २०४७ देखि निरन्तर १० वर्षसम्म काँग्रेसको काठमाडौँ जिल्ला सभापति रहेर सिंहले काम गरे ।  त्यो बेलाका सभापति गिरिजाप्रसाद कोइरालाको निशानामा परेका उनलाई पार्टीको १०औँ महाधिवेशन अघि अन्य १६ जिल्ला सभापतिसँगै हटाइयो ।  रुष्ट बनेका गणेशमान पुत्र प्रकाशमान सिंहले १०औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उठ्ने हिम्मत गरे र जिते पनि ।

 

पार्टी सभापति गिरिजा प्रसाद कोइरालाको व्यवहारका कारण शेरबहादुर देउवातिर ढल्कँदै गएका सिंह पार्टी विभाजन हुँदा काँग्रेस प्रजातान्त्रिक तिर लागे । उनी नेपाली काँग्रेस (प्रजातान्त्रिक)को उप–सभापति नै बने । २०६४ मा पार्टी एकीकरण भयो । २०६७ को १२औँ महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भए ।

 

प्रकाशमान सिंहले २०४८ मा काठमाडौँ–४ मा एमालेकी साहाना प्रधान र २०५१ मा काठमाडौँ–३ बाट एमालेकै मनमोहन अधिकारी सँग पराजित हुन परेको थियो ।  त्यसपछि २०५३ सालमा राष्ट्रिय सभा सदस्य भएर ६ वर्ष बिताउने मौका पाए । 


२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा सिंह काठमाडौँ–१ मा आएर संसद् छिर्ने बाटो बनाएका प्रकाशमान  निरन्तर चौथो विजयी यात्रा तय गरेका छन् । काठमाडौँ–१ मा २०६४ मा सिंहले १४ हजार ३ सय १८, नेकपा (एमाले)का प्रदीप नेपालले ६ हजार ७ सय ८९ र नेकपा (माओवादी)का राममान श्रेष्ठले ४ हजार ८ सय ३६ मत ल्याएका थिए ।

 

काठमाडौँ क्षेत्र नंं १ मा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि प्रकाशमान सिंह नै विजयी भए ।  त्यो बेला उनले १५ हजार १ सय ३८ मत पाए भने माओवादीकी रेणु दाहालले ४ हजार ६४ मत ल्याएकी थिइन् ।

 

एमाले र माओवादी केन्द्रको गठबन्धन भएको २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सिंह १० हजार ९ सय ३७ मतका साथ विजयी भएका थिए । त्यस बेला विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र १० हजार १ सय १८ मतका साथ निकटतम प्रतिद्वन्द्वी बनेका थिए । 
यस पटक पनि काठमाडौँ क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन् ।  काठमाडौँ १ बाट प्रतिनिधिसभा सदस्यमा सिंह निर्वाचित भएका हुन् ।


१२८ मतको झिनो मतान्तरले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सिंहले पराजित गरेका छन् । सिंहले ७ हजार १ सय ३९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ सय ११ मत पाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:४७
प्रतिक्रिया दिनुहोस्