प्रधानमन्त्रीमा गगन : सम्भव छ तर सजिलो छैन
काठमाडौँ–क्षेत्र नं ४ का जनताले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई फेरि निर्वाचित गरेर संघीय संसद पठाएका छन् । विगत झैं यस पटक पनि जनताले ठूलो आशा र मन दिएर उनलाई निर्वाचित गराएका हुन् ।
निर्वाचनको बेला जनतासँग यसपटक र यसअघि उनले सपना देखाए । पहिला देखाएका सपना उनले कति पूरा गरे त्यो मूल्याङकनको विषय हो तर यस पटक देखाइएको अपना पूरा गर्न थापालाई भने सजिलो छैन । यद्यपी जनताले उनी माथि विश्वास गरेर फेरि त्यो सपना पूरा गर्न मतदान गरे । थापाले अबको प्रधानमन्त्री आफू हुने दाबी गर्दै आएका छन् । जनताले उनको यो कुरालाई निर्वाचित गरेर लालमोहर लगाएका छन् । तर गगन आफैलाई भने प्रधानमन्त्री बन्न त्यति सहज भने छैन ।
थापाले निर्वाचनकै क्रममा पार्टी भित्र नै प्रधानमन्त्रीका लागि आफूलाई दाबेदारको रूपमा अघि सारेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई आफू नै प्रधानमन्त्री हुने आश्वासन दिएका छन् । त्यस्तै, डा. प्रकाशशरण महत पनि त्यो लाइनमा छन् । उनले त सार्वजनिक रूपमा नै गगनलाई ‘प्रधानमन्त्री बन्न हतार नगर्न’ आग्रह नै गरेका थिए । यस्तै, प्रधानमन्त्रीका आकांक्षी स्वयं प्रधानमन्त्री शेरबहादुर देउवा पनि छन् ।
योसँगै गठबन्धन गरेर निर्वाचनमा कांग्रेस निर्वाचनमा होमिएको छ । गठबन्धनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पनि आफू प्रधानमन्त्री बन्न सक्ने संकेत दिएका छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल पनि प्रधानमन्त्री बन्न सक्ने झिल्को बेला बेलामा दिइरहेका छन् । सत्ता गठबन्धन भित्रको यस्तो सकीकरणमा थापालाई प्रधानमन्त्री बन्न फलामको चिउरा चपाए बराबर हुने देखिन्छ ।
कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री बन्छन् । तर थापा संसदीय दलको नेता बन्ने आकांक्षा देखाइरहेको बेला उनी कसरी संसदीय दलको नेता बन्छन् ,भन्नका लागि कांग्रेस र गठबन्धनले कति सिट ल्याउँछ त्यसमा पनि भर पर्छ । यसको लागि उनले पार्टीभित्र पनि राम्रै कसरत गर्नुपर्ने हुन्छ । शेखर कोइराला खेमामा रहेका थापा पार्टी भित्र निर्वाचित सांसदको सङ्ख्या कति कति आउँछ र निर्वाचनको अन्तिम अन्तिम परिणाम आएपछि मात्रै उनको आगामी यात्रा सुरु हुन्छ ।
तर युवाले उनलाई प्रधानमन्त्री बनेको हेर्ने इच्छा स्वरुप फेरि पनि सांसद् बनाएका हुन् भन्ने तर्क थापानिकट सहयोगीहरूको छ । । तर प्रधानमन्त्रीका लागि थापाले जे इच्छा देखाएका छन्, यसका लागि कांग्रेस र यसको शीर्ष नेतृत्वले उदार नीति लिनु आवश्यक छ । कांग्रेसले पुरातन शैली, सोच त्यागेर गगन जस्ता युवालाई अघि बढ्न दिए, यसको सन्देश नै फरक हुने विश्लेषण पनि गरिन्छ । जनमतको कदर तथा सर्वसाधारणको मागलाई सम्बोधन गर्दै थापालाई प्रधानमन्त्रीमा चयन गर्नु कांग्रेसको लागि उचित हुनेछ ।