नजिकबाट चिनौँ सातौं पटक निर्वाचित प्रधानमन्त्री देउवालाई
काठमाडौँ— नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सातौं पटक सांसद निर्वाचित भएका छन् ।
उनले यसपटक सांसद निर्वाचित हुँदा आफ्ना निकटतम प्रतिस्पर्धीलाई १२ हजार ४९२ मतले पछाडि पारेका छन् ।
निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी रहेका सागर ढकालले १३ हजार ४२ मत पाए ।
डडेलधुराबाटै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५ सय ३५ मत पाएका छन् । उनलाई त्यहाँ नेकपा एमालेले पनि समर्थन गरेको थियो ।
उनी २०१७ साल पुस १ गते निर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको निर्वाचित सरकार विघटन गरेर पञ्चायतको सुरुवात भएपछि राजनीतिमा सक्रिय भएका थिए । २०२८ मा कांग्रेसको विद्यार्थी संगठन नेविसंघको प्रथम सभापति पनि हुन् ।
कांग्रेसको विभिन्न संगठनमा रहेर जिल्लादेखि केन्द्रसम्मको नेतृत्व गरेका उनले नेपाली कांग्रेस विभाजन गरी नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन र सभापतिका रुपमा २०५९ सालदेखि पाँच वर्ष नेतृत्व गरे ।
उनले २०६४ मा पुन: कांग्रेससँग एकीकरणपछि वरिष्ठ नेताको स्थान पाएका थिए । यस्तै, २०७२ को १३औँ महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति निर्वाचित भए । उनी २०७८ मा कांग्रेसको १४ औँ महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित भए।
२०४८ को संसदीय निर्वाचन, मध्यावधिनिर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा डडेलधुराबाट निर्वाचित भए । उनी संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा डडेल्धुराबाट निर्वाचित भए । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि डडेलधुराबाट फेरी पनि निर्वाचित भए ।
२०७८ असार २९ गतेदेखि हालसम्म प्रधानमन्त्री पदमा बहाल भएका उनी २०५२, २०५८, २०६१, २०७४ मा प्रधानमन्त्री भएका थिए । त्यस्तै, २०४८ मा गृहमन्त्री भएका थिए ।
राजनीतिक आन्दोलनका क्रममा उनी ९ वर्ष जेल जीवन बिताए भने राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासतमा पनि परे