यू–१९ राष्ट्रिय क्रिकेट : सूदूरपश्चिमको विजयी सुरुवात
काठमाडौँ— सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा सूदूरपश्चिमले कर्णाली प्रदेशलाई पाँच विकेटले हरायो । कर्णालीले दिएको एक सय २८ रनको विजयी लक्ष्य सुदूरपश्चिमले २६.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।
सुदूरपश्चिमको जितमा मिलन बोहोराले ४२ रन बनाए । दीपक बोहोराद्वयले समान २०र२०, सुनिल चन्दले १३ र अनुराग सिंहले १० रन बनाए । बलिङमा कर्णालीका अनुज चुनाराले तीन तथा सन्दीप शाही र मोहन विकले एक एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३२।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो । कर्णालीका लागि दिनेश अधिकारीले अविजित ३५ रन बनाए । सुवास ऐरले ३०, कप्तान विपीन रावलले १९ र आवाश शाहले १५ बनाए। बलिङमा सुदूरपश्चिमका मिलन बोहोराले तीन विकेट लिए । नरेन साउदले दुई तथा हेमन्त धामी र कैलाश ऐरले एक एक विकेट लिए ।
सात प्रदेशको सहभागिता रहेको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै म्यान अफ दि सिरिजलाई १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल क्रिकेटसंघ (क्यान) ले जनाएको छ ।