ललितपुरका होटल र रेष्टुरेण्टको अनुगमन
ललितपुर–आन्तरिक राजश्व कार्यालय ललितपुरले आफ्नो क्षेत्रमा पर्ने होटल तथा रेष्टुरेण्टको अनुगमन गरेको छ । होटल तथा रेष्टुरेण्टले कानुन विपरीतको अतिरिक्त शुल्क लिएको उजुरी तथा गुनासो र कर छलीको समस्या देखिएपछि राजश्व कार्यालयले अनुगमन तीब्र बनाएको हो ।
आन्तरिक राजश्व कार्यालय ललितपुर १ का प्रमुख कर अधिकृत अर्जुन ढकालका अनुसार उपभोक्ताको गुनासो तथा उजुरीपछि आफ्नो कार्यक्षेत्रमा पर्ने होटल तथा ठूला रेष्टुरेण्टहरूमा अनुगमनलाई तीब्र बनाइएको छ । ठूला रेष्टुरेण्टहरूले मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १४ ख लगायतका कर कानुनको उल्लंघन गरेको र मेनु प्राइसमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्तालाई तिराएको उजुरीका आधारमा अनुगमनलाई तीब्र पारिएको प्रमुख कर अधिकृत ढकालले बताए ।
कतिपय होटल तथा रेष्टुरेण्टहरूले उपभोक्तालाई बिलबिजक जारी नगरेको र कम्प्युटर बिलिङको सुविधा लिएका व्यापारिक संस्थाहरूले समेत बिल जारी नगरी कारोबार नदेखाई कर छली गरेको सूचना तथा उजुरीहरू आउन थालेपछि उनीहरूमाथि निगरानी बढाइएको र अनुगमनलाई तीव्र बनाइएको ढकालले बताए ।
ढकालका अनुसार आन्तरिक राजश्व कार्यालय ललितपुर १ ले प्रत्येक दिन दुईदेखि तीनवटा टोली बनाएर होटल, रेष्टुरेण्ट, हार्डवेयर, होलसेल लगायतका व्यापारिक संघ संस्थाको अनुगमनलाई तीव्रता दिएको हो । प्रमुख कर अधिकृत ढकालका अनुसार दैनिक औसतमा १० वटा होटल, रेष्टुरेण्ट हार्डवेयर लगायतका करको कारोवार गर्ने संस्थाहरुमा अनुगमन भइरहेको छ ।