Nic Ad Nic Ad
Nic Ad Nic Ad

कास्कीका सबै सिट एमालेको पोल्टामा

शुक्रबार, मंसिर ९, २०७९

पोखरा–कास्की जिल्लामा प्रतिनिधिसभामा नेकपा (एमाले)ले ३ वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै ‘क्लिन स्वीप’ गरेको छ । प्रदेशसभामा एमालेले ४ र नेपाली कांग्रेसले २ स्थानमा जित निकालेका छन् । 


कास्की –१ मा एमालेका मनबहादुर गुरुङ निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ५१९ मतान्तरले पराजित गर्दै गुरुङ विजयी भएका हुन् । एमाले कास्कीका अध्यक्ष समेत रहेका गुरुङले २५ हजार ७०८ मत ल्याउँदा नेपाली कांग्रेस कास्कीका सभापति बरालले २३ हजार १८९ मत पाएका छन् । 


यसैगरी कास्की –२ प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)की विद्या भट्टराई विजयी भएकी छन् । निकटम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गर्दै भट्टराईले दोस्रो पटक संसद भवनको यात्रा तय गरेकी हुन् । 


विद्यार्थी राजनीति गर्दा अनेरास्ववियु महिला विभाग प्रमुख, केन्द्रीय सचिव र पार्टीको विभिन्न जिम्मेवारीमा समेत रहेकी भट्टराई तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । अधिकारीको निधनपछि २०७६ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा प्राध्यापन पेसा छाडेर एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएर  निर्वाचित भएकी थिइन् । 


कास्की–३ प्रतिनिधिसभा सदस्यमा भएको निर्वाचनमा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजमी बराल जीवनलाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले पहिलो पटक प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् । 

 

प्रदेशसभामा एमालेका ४ र कांग्रेसका २ विजयी 

गण्डकी प्रदेशसभाका लागि भएको निर्वाचनमा एमालेले ४ सिट र नेपाली कांग्रेसले २ सिटमा जित निकालेका छन् । सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्रले भने जित निकाल्न सकेनन् । 


कास्की–१ (क) बाट एमालेका खगराज अधिकारी विजयी भएका छन् । एमालेका अधिकारी आफ्नो पार्टीबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार हुन् । कास्की–१ (ख) मा पनि एमालेकै वेदबहादुर गुरुङ श्याम विजयी भइसकेका छन् । 


यसैगरी कास्की–२ मा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले १ ÷१ सिट जितेका छन् । (क) मा एमालेका भिमबहादुर कार्की विजयी भएका छन् भने (ख) मा नेपाली कांग्रेसका उम्मेदवार विन्दुकुमार थापा विजयी भएका छन् । 


कास्की–३ (क) बाट एमालेका गणेशमान गुरुङ विजयी भएका छन् । विद्यार्थीदेखि नै राजनीतिमा सक्रिय गुरुङ २०६९ सालमा एमाले छाडेर संघीय समाजवादीमा लागेका थिए । पहिचानको राजनीतिका लागि समाजवादीमा गएका गुरुङ गत फागुनमा एमालेमा फर्केका थिए । यसैगरी (ख) बाट नेपाली कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार