बागमतीमा नेपाली कांग्रेस ठूलो दल बन्दै
काठमाडौं– बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने भएको छ । हालसम्म प्रत्यक्षतर्फको ४५ सिटको नतिजा सार्वजनिक हुँदा कांग्रेसले १८ सिट जितेको छ । बागमती प्रदेशमा प्रत्यक्षतर्फ कूल ६६ सिट रहेको छ ।
अब २१ सिटको नतिजा आउँन बाँकी हुँदा एमालेभन्दा कांग्रेसले ९ सिट बढी जितेको छ । हालसम्म नेकपा एमालेले ९, नेकपा माओवादी केन्द्रले ७, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ५, नेकपा एकीकृत समाजवादीले ४ सिट जितेको छ ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीले १ र हाम्रो नेपाली पार्टीले १ सिट जितेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतगणना भइरहेका ६ स्थानमा कांग्रेसले फराकिलो अग्रता लिएको छ । त्यस्तै ४ स्थानमा एमाले, ६ स्थानमा माओवादी केन्द्र, २ स्थानमा राप्रपा र १ स्थानमा एकीकृत समाजवादीको अग्रता रहेको छ ।
समानुपातिकतर्फ भने एमालेले हालसम्म सबैभन्दा बढी मत पाएको छ । यसअघि बागमती प्रदेशसभामा एमाले विभाजनपश्चात पनि सबैभन्दा ठूलो दल थियो ।