प्रत्यक्षतर्फ कर्णालीबाट एमाले बढारियो
सुर्खेत–प्रतिनिधिसभामा १२ सिट रहेको कर्णालीमा नेकपा (एमाले) शून्य भएको छ । प्रदेससभामा प्रत्यक्षतर्फ जितेको एमाले प्रतिनिधिसभामा शून्य भएको हो ।
जाजरकोटमा नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का जनार्दन शर्मा, सुर्खेत–१ मा कांग्रेसका पूर्णबहादुर खड्का, सुर्खेत–२ मा हृदयराम थानी, दैलेख–१ मा नेकपा (एकीकृत समाजवादी) का अम्वरबहादुर थापा र दैलेख–२ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही विजयी भएका छन् ।
त्यस्तै, सल्यानमा नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वाला, डोल्पामा समाजवादीकै धनबहादुर बुढा, जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही, कालिकोटमा माओवादीका महेन्द्रबहादुर शाही, मुगुमा कांग्रेसका ऐनबहादुर शाही ठकुरी र हुम्लामा नेकपा (माओवादी केन्द्र) का छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन् ।
कर्णालीका १० जिल्लामा रहेका १२ सिटमा एमाले शून्य हुँदा प्रदेशसभामा अहिलेसम्म डोल्पा (क) मा एमालेका शेरबहादुर बुढा, सुर्खेत–२ को (ख) मा नेकपा एमालेका यमलाल कँडेल विजयी भएका छन् । मुगु–१ को (ख) मा एमालेका जितबहादुर मल्ल विजयी भएका छन् । दैलेख–२ (ख) विनोदकुमार शाहले जिते । जुम्ला (ख) मा एमालेका टेकराज पछाइ विजयी भएका छन् । प्रदेशसभातर्फ एमालेको अहिलेसम्म ६ सिट आएको छ ।