Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णालीमा मुख्यमन्त्रीका ६ दाबेदार

शनिबार, मंसिर १०, २०७९

सुर्खेत–प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । मतपरिणाम लगभग कनि लाग्दा कर्णाली प्रदेशसभामा भावी मुख्यमन्त्रीको चर्चा पनि सुरु भएको छ ।


कर्णाली प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने ६ जना निर्वाचित भएका छन् । निर्वाचनमा होमिएका मुख्यमन्त्रीका आकांक्षी ८ जना नेताहरू मध्ये ६ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि भावी मुख्यमन्त्रीको चर्चा सुरु भएको छ ।


भावी मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेसबाट ३, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट २ जनाको नाम निकै चर्चामा रहेको छ । जसमध्ये एमालेबाट मुख्यमन्त्रीको चर्चामा रहेका प्रदेश सह–इञ्चार्ज गुलाबजङ्ग शाह र नेपाली कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाही पराजित भएका छन् ।


सभापति शाहीले मुख्यमन्त्री बन्ने उद्देश्यसहित निर्वाचनमा भाग लिएका थिए । यद्यपि, उनको निर्वाचन क्षेत्र जुम्ला (क) मा उनीविरुद्ध उम्मेदवारी दिएका कांग्रेसका देवेन्द्रबहादुर शाहीले निर्वाचन जितेपछि शाहीको मुख्यमन्त्री बन्ने सपना तुहिएको छ ।


मुख्यमन्त्रीका आकांक्षीमध्ये पराजित हुनेमा एमाले सह–इञ्चार्ज गुलाबजंग शाह पनि हुन् । उनी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेश अधिकारीसँग पराजित भएका हुन् । २०७४ मा सल्यान (क) बाट निर्वाचित भएर प्रदेश सभामा एमाले सचेतक भइसकेका शाह यस पटक यामलाल कँडेलको विकल्पमा आफूलाई मुख्यमन्त्रीको दाबेदारको रूपमा उभ्याउँदै आएका थिए । 


पराजित हुने डरले निर्वाचन क्षेत्र बदलेर (ख) मा निर्वाचन लडे पनि उनी पराजित भए । निर्वाचित हुनेमा माओवादी केन्द्रबाट राजकुमार शर्मा, विन्दमान विष्ट, कांग्रेसबाट राजीवविक्रम शाह, जीवनबहादुर शाही र एमालेबाट यामलाल कँडेल छन् ।


माओवादीबाट मुख्यमन्त्रीका अर्को दाबेदार हुन्, विन्दमान विष्ट । सुर्खेत–२  प्रदेशसभा (ख) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित भएका उनी यसअघि प्रदेश सरकारको अर्थमन्त्री भइसकेका हुन् । उनी मुख्यमन्त्री बन्ने उद्देश्यसहित आन्तरिक तयारी गरिरहेका छन् । उनले एमालेका ताराकेश्वर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन् ।


२०५८ सालमा भएको सुर्खेतको जेलब्रेकको घटना निकै चर्चित र रोचक थियो । उनी त्यही घटनाका एक कमाण्डर हुन् भने माओवादीभित्र युवा र ‘भिजनेवल’ छवी भएका नेताका रूपमा मानिन्छन् । २०५० सालदेखि माओवादी केन्द्रमा संलग्न भएका उनी २०५६ सालमा भूमिगत भएका थिए । २०५६ देखि उनले १ माघ २०५८सम्म अर्थात् १८ महिना जेल जीवन बिताएका छन् ।


क्रान्तिकारीको महासचिव हुँदै केन्द्रीय सदस्यसमेत भएका उनी २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित भए । माओवादीबाट शर्मा र विष्ट मुख्यमन्त्रीको आकांक्षी हुँदा कांग्रेसबाट राजीवविक्रम शाह र वहालवाला मुख्यमन्त्री पुनः मुख्यमन्त्रीकै दाबेदार हुन् ।


शाह २०७४ मा माओवादी नेता शक्ति बस्नेतसँगै पराजित भएका थिए । कांग्रेसबाट अहिलेका वहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही पनि पुनः मुख्यमन्त्रीका दाबेदार हुन् । हुम्ला (ख) बाट निर्वाचित भएका शाही आफूले अघि सारेको ‘छ’ ब को नीतिलाई कार्यान्वयन गर्न मुख्यमन्त्रीमा आफ्नो उम्मेदवारी रहेको बताउँदै आएका छन् ।


एमालेबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार यामलाल कँडेल हुन् । उनी संघीय पर्यटन मन्त्री पनि भइसकेका छन् ।  २०७४ मै मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेश झरेका कँडेल त्यतिबेला बाम गठबन्धनको भागवण्डाअनुसार माओवादीको भागमा परेपछि ब्याक भएका थिए । 

 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०७:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार