Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेक्सिकोविरुद्ध अर्जेन्टिनालाई जित्नै पर्ने दबाब

शनिबार, मंसिर १०, २०७९

काठमाडौं–अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले समूह ‘सी’अन्तर्गत मेक्सिकोविरुद्धको खेल दक्षिण अमेरिकी टिमका लागि विश्वकपको पहिलो फाइनल हुने बताएका छन् । 


पहिलो खेलमा साउदी अरबविरुद्ध पहिलो खेलमा २–१ ले पराजित भएको दुई पटकको च्याम्पियन अर्जेन्टिना समूह चरण पार गर्न जित्नै पर्ने दबाबमा छ ।


लुसेल रंगशालामा त्यो नतिजा अर्जेन्टिनाले विश्वकपका पछिल्ला ६ खेलमा चौथो पराजय हो । त्यसबाहेक एक खेलमा जित र एक खेल बराबरी खेलेको छ । जुन त्यसअघिका २५ खेलमा भोगेको हार बराबरी हो ।


त्यो हारबाट अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा पूर्णविरामसमेत लगाएको थियो । विश्व फुटबलको सबैभन्दा लोकप्रिय टिमकोरूपमा कतार पुगेको अर्जेन्टिना अब छिट्टै बाहिरिने खतरामा पुगेको छ ।


मेक्सिकोविरुद्धको विगत अर्जेन्टिनाको पक्षमा छ । अर्जेन्टिनाले पछिल्ला १० खेलमा मेक्सिकोसँग अपराजित छ । जसमा सन् २००४ को कोपा अमेरिकामा हासिल गरेको जित पनि समावेश छ । सन् १९३०, २००६ र २०१० मा भएका भेटमा पनि अर्जेन्टिनाले जित निकालेको छ ।


मेक्सिकोका लागि पछिल्लो समय विश्वकपमा गोल गर्नु प्रमुख समस्या बनिरहेको छ । उत्तर अमेरिकी मुलुकले खेलेका पछिल्ला तीन खेलमा गोल गर्न सकेको छैन । समूह ‘सी’को पहिलो खेलमा मेक्सिको पोल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको थियो । त्यो खेलमा पोलिस कप्तान रोबर्ट लेवान्डोस्कीले प्रहार गरेको पेनाल्टी गुइलेर्मो ओचोवाले बचाएका थिए ।


सन् १९८६ मा क्वार्टरफाइनल पुगेको मेक्सिको त्यसपछिका सात संस्करणमा फेरि त्यहाँ पुग्न सकेको छैन । यदि अर्जेन्टिनाविरुद्ध जित निकाल्न सके अन्तिम १६ मा पुग्ने करिब निश्चित हुनेछ । त्यति मात्रै होइन, विश्वकपको प्रमुख दाबेदार मानिएको अर्जेन्टिनाको यात्रासमेत समूह चरणमा टुङ्गिने छ । मेक्सिको सन् २०१० को विश्वकपको बदला लिने होडमा हुनेछ । 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०८:४७
प्रतिक्रिया दिनुहोस्