हुलाकी राजमार्ग : १३ पटक म्याद थप, डेढ दशकमा बल्ल ८२ प्रतिशत काम
काठमाडौँ– तराईका लागि कोशे ढुङ्गा मानिएको हुलाकी राजमार्ग आयोजना निर्माणमा ढिलाइ हुँदै गएको छ । आर्थिक वर्ष २०६४/०६५ देखि आयोजना निर्माणको थालनी भए पनि अहिलेसम्म आयोजना अधिकांश काम अधुरै छन् । आयोजना निर्माण सुरु भएको १५ वर्ष बितिसक्दासमेत बल्ल ८२ प्रतिशत काम सकिएको छ ।
सुरुवाती चरणमा आर्थिक वर्ष २०७४/०७५ भित्र आयोजना निर्माण सम्पन्न गर्ने प्रक्षेपण थियो । तथापी, सो अवधिमा विभिन्न कारणले आयोजना सम्पन्न हुन नसक्ने अवस्था देखियो । फलस्वरूप, परियोजना लम्बिँदै निर्माणमा ढिलाइ हुँदै गएको देखिन्छ । आयोजना समयमै सम्पन्न नभएपछि पटक पटक म्याद थप गर्दै पछिल्लो पटक संशोधन गरी आव २०७९/०८० भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आव २०७४/०७५ देखि हालसम्म १३ पटकसम्म म्याद थप गरिएको छ ।
पछिल्लो संशोधित तालिकाअनुसार पनि आयोजना निर्माण सम्पन्न नहुने निश्चित प्रायः नै छ । तसर्थ, आयोजनाले पुनः म्याद थपको बाटो कुरेर बसेको देखिन्छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा आयोजना निर्माण सम्पन्न हुन नसक्ने हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक धमेन्द्रकुमार झाले क्यानडा नेपाललाई जानकारी दिए ।
उनले आयोजना सम्पन्न हुन अझै २ देखि ३ वर्ष समय लाग्ने बताए । निर्देशक झाले आयोजना निर्माणमा थुप्रै समस्या र विविध कारणले तोकिएको अवधिभित्र सम्पन्न हुन सक्ने अवस्था नरहेको स्वीकार गरे । ‘हालसम्म ८२ प्रतिशत काम सम्पन्न भएको छ । पुल निर्माण र कालोपत्रेको काम पनि भइरहेको छ’ उनले भने, ‘संशोधित समय चालू आवभित्र आयोजना सम्पन्न गर्न सकिँदैन, अझै २/३ वर्ष लाग्छ ।’
हालसम्म कति काम काम भयो ?
यो परियोजना पूर्व पश्चिम खण्डतर्फ ९ सय ७५ र पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकाम जोड्ने ८१७ किमीको ३२ वटा सहायक सडक गरी १ हजार ७९२ किलोमिटर लम्बाइको छ । सो सडक राजमार्गमध्ये हालसम्म करिब ९०० किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको झाले बताए । त्यस्तै, बनाउनुपर्ने २५० वटा पुलमध्ये १४० वटा पुल निर्माण सम्पन्न भइसकेको छ । ३५ वटा पुल अहिले पनि निर्माणाधीनकै अवस्थामा छन् भने बाँकी ८० वटा पुल निर्माणका लागि डिजाइन र ठेक्का प्रक्रियामै रहेको उनले बताए ।
निर्माणाधीन पुल निर्माणको काम यसै आवभित्र सम्पन्न गरी बाँकी पुल निर्माण डेढ वर्षभित्र सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । कोरोना महामारीलगायत कारणले आयोजना निर्माणमा समेत अवरोध हुन पुगेको छ । आयोजना निर्माणमा ढिलाइ हुनुको मुख्य कारण ठेकेदारले समयमै काम पूरा नगरिदिने र म्याद थपको बहाना बनाउनु नै रहेको देखिन्छ ।
हुलाकी राजमार्गले तराईका २१ वटा जिल्लासहित उत्तर दक्षिणका केही जिल्ला छुन्छ । आयोजना निर्माण थालनी भएको १५ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको यस परियोजना सम्पन्न हुन नसक्नु आफैँमा लज्जाको विषय भएको विज्ञहरू बताउँछन् । आयोजना निर्माणको डिजाइन, खरिद प्रक्रिया र ठेकेदारको लापरबाहीका कारण हुलाकी राजमार्ग अहिलेसम्म अलपत्र अवस्थामा रहेको बताउँछन्, पूर्वाधार विज्ञ सूर्यराज आचार्य । उनले राष्ट्रिय गौरवको परियोजनाले यति धेरै समय लिनु आफैँमा दुःखद रहेको बताए ।
आयोजना निर्माणको समय लम्बिएसँगै लागत पनि बढ्ने निश्चित नै छ । आयोजनाको सुरुवाती लागत अनुमानित ६५ अर्ब २० करोड रुपैयाँ थियो । जसमध्ये भारतीय अनुदान ८ अर्ब र बाँकी ५७.२० अर्ब नेपाल सरकारले सुनिश्चित गर्ने सम्झौता थियो । तर, आयोजना निर्माणमा ढिलाइ हुँदा लागत अझै बढ्ने देखिएको छ । हालसम्म आयोजना निर्माणमा ५३.१२ अर्बभन्दा बढी रकम खर्च भइसकेको छ । आयोजनाको बाँकी काम सम्पन्न हुँदासम्म लागत ६५ अर्ब नाघ्ने निश्चित नै छ । तर, लागत कति बढ्छ भन्ने यकिन छैन ।
निकुञ्जको रेखाङ्कनमा बन मन्त्रालयले रोक्यो अनुमति
हुलाकी परियोजना निर्माणमा एउटा मात्र समस्या छैन । अन्य थुप्रै समस्या निर्माणका लागि बाधक बनिरहेका छन् । यसअघि विभिन्न कारणले अघि बढ्न नसकेका कतिपय पुल अदालती प्रक्रियाका कारण अलपत्र छन् । सर्लाही र रौतहट जोड्ने बागमती पुल निर्माण अहिलेसम्म पनि सम्पन्न हुन सकेको छैन । त्यति मात्र होइन, आयोजनाको चितवन र नवलपरासी जिल्लामा गरी कुल ८८ किलोमिटर निकुञ्ज क्षेत्रमा पर्छ ।
निकुञ्ज क्षेत्रमा सडक विस्तार गर्न बन तथा वातावरण मन्त्रालयको अनुमति लिनुपर्छ । तर, बन मन्त्रालयले अनुमति नदिँदा निर्माण अघि बढ्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै सडकको रेखाङ्कन भएकाले वातावरण प्रभाव मूल्याङ्कन(इआए) सकाएर अनुमति मागे पनि बन मन्त्रालयले अनुमति दिएको छैन ।