Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप २०२२: आज पनि चार खेल हुँदै

आइतबार, मंसिर ११, २०७९

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज समुह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज समूह ‘ई’ र समूह ‘एफ’ का समान दुई खेलहरु हुनेछ ।

दिनको पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टा रिकाबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेपछि अहमेद विन अली स्टेडियममा हुनेछ ।

जापान र कोस्टा रिका मैदानमा उत्रदा दुवै टोलीकोलक्ष्य स्पष्ट जितकै हुनेछ । जापानले आफ्नो पहिलो खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दा कोस्टा रिका स्पेनसँग ७–० ले पराजित भएको थियो ।

यस्तो अवस्थामा जापान उच्च मनोवलका साथ मैदान उत्रदा कोस्टा रिका फराकिलो हारको पीडा भुल्ने प्रयासमा हुनेछ । सातौपटक विश्वकप खेलिरहेको जापान लगातार दोस्रो पटक नकआउट चरण पुग्ने योजनामा हुनेछ । यसअघि जापानले २०१८ मा समूह चरण पार गरेको थियो ।

जापान पहिलो पटक विश्वकपमा लगातार दुई जित निकाल्ने लक्षमा हुनेछ । जापानले विश्वकपका पछिल्ला पाँच खेलमध्ये चार खेलमा दुई गोल गरेको छ ।

यता कोस्टा रिका पहिलो जितको खोजीमा हुनेछ । कोस्टा रिका पहिलो खेलमा स्पेनसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो । कोस्टा रिका उक्त हारलाई बिर्सदै जित निकाल्ने योजनामा मैदान उत्रनेछ ।

सन् २००२ मा समूह चरणमा चीनलाई २–० ले हराएर कोस्टा रिकाले त्यसपछि विश्वकपमा पहिलोपटक एसियाली टोलीसँग खेल्न लागेको हो ।

स्पेनविरुद्ध जेविसन बेनेट (१८ वर्ष १६१ दिन) फिफा विश्वकपमा उपस्थिति हुने कोस्टा रिकाको सबैभन्दा कान्छो खेलाडी बने । जबकि ब्रायन रुइज (३७ वर्ष ९७ दिन) सोही खेलमा सबैभन्दा पाका खेलाडी बनेका छन्।

यि दुई टोली हालसम्म चारपटक भेट हुँदा जापान अपराजित छ । जापानले ३ खेलमा जित र एक बराबरीको नतिजा निकालेको छ । पछिल्लो पटक २०१८ मा भएको मैत्रीपूर्ण खेलमा जापानले कोस्टा रिकालाई ३–० ले पराजित गरेको थियो ।

जापानले विश्वकपमा २२ खेल खेल्दा ६ जित, ५ बराबरी र ११ हारको नतिजा निकालेको छ । यता, कोस्टा रिकाले १९ खेल खेल्दा ५ जित, ५ बराबरी र ९ हारको नतिजा निकालेको छ ।

दोस्रो खेलमा समूह 'एफ' का बेल्जियम र मोरक्को बिच प्रतिस्पर्धा हुनेछ । बेल्जियम र मोरक्को बीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा क्यानडालाई १-० गोलअन्तरले पराजित गरेको बेल्जियम आजको खेलमा पनि जित हात पार्न चाहान्छ । मोरक्को भने पहिलो जित हात पार्न चाहान्छ ।

पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्वकप अन्तर्गत नै आईतबार हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडा खेल्ने छन् ।

समूह 'एफ' का क्रोएसिया र क्यानडा बीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् ।

पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो । क्यानडा भने बेल्जियमसँग पराजित भएको थियो ।

त्यस्तै चौंथो खेलमा समूह 'ई'का जर्मनीले स्पेनको सामना गर्नेछ । जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा जित हात पारेको स्पेन सोही लयलाई निरन्तरता दिन चाहान्छ ।

मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०७:००
प्रतिक्रिया दिनुहोस्