घण्टी त बज्यो, गुञ्जन कति रहने हो !
काठमाडौँ– यसपालीको आम निर्वाचनमा आँकलन गरेको भन्दा बढी मत र विश्वास रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतत्र पार्टीले पाएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्र हरेक निर्वाचनमा खुम्चिदैँ गएको छ ।
नेकपा एमालेबाट विघटन भई बनेको नेकपा (समाजवादी एकिकृत) अझै राष्ट्रिय दल बन्न संघर्षशील छ । निर्वाचनको अन्तिम परिणाम नआएसम्म यसै भन्न सकिने अवस्था छैन् ।
स्वतन्त्र पार्टीले ७ ठाउँमा विजयी हासिल गरेको छ । यो नै स्वतन्त्र पार्टीको सफलता हो । दल दर्ता गरेको छोटो समयमा नै जनताले उनीहरु प्रति देखाएको विश्वास ठूलो छ । तर यो विश्वास कति दिन टिक्ला । त्यो हेर्न नै बाँकी छ । यस्तै, समानुपातिकमा पनि स्वतन्त्रले लगभग १० लाख मत पाइसकेको छ ।
यति धेरै मताधिकार पाउनु कुनै पनि नयाँ दलका लागि चानचुने कुरा होइन । तर जनताले जुन भरोसाका साथ स्वतन्त्र पार्टीलाई मतदान गरेका छन्, त्यो भरोसा कति टिक्छ, त्यो अहिले नै भन्न सकिने अवस्था छैन । तर, स्वतन्त्र पार्टीबाट विजय भएका सांसदहरू आगामी पाँच वर्षमा जनतालाई निर्वाचनमा मत माग्ने क्रममा दिएका आश्वासन कसरी पुरा गर्छन्, त्यो भने हेर्न बाँकी छ ।
मतगणनाको अहिलेसम्मको परिदृश्यले दिएको स्पष्ट सन्देश ‘विकल्पको खाजी’ नै हो । जनताले विकल्पलाई जनअनुमोदित गरिदिएका छन् । अब त्यो जनअनुमोदनलाई आगामी पाँच वर्षसम्म विश्वासमा लिन सक्छन् कि विगतमा जस्तै अवसान हुनेछ त्यो भने भविष्यकै गर्भमा छ ।
उनीहरुले यो पाँच वर्षमा कसरी काम गर्छन्, त्यसैको आधारमा उनीहरुको मूल्यांकन हुन्छ । अहिले उनीहरुले पाएको जनमतलाई आधार बनाएर ‘हिरो’ बनाउनु तर्कसंगत नहोला ।
यसपटक स्वतन्त्र पार्टीको उदय पनि त्यही शैलीमा भएकोले आगामी पाँच वर्षमा पनि के कति गर्छन् ? त्यसको लेखाजोखा नभइकन अहिले नै धेरै कुराको अनुमान गर्नु हतारो हुनेछ ।
२०७४ को निर्वाचनमा वैकल्पिक शक्तिका रूपमा उदाएका साझा पार्टी, विवेकशील नेपाली दल र नयाँ शक्तिले पाएको परिवर्तनमुखी जनमतको कहीं कतै सम्मान हुन सकेन । विकल्पको रूपमा उदाएका शक्तिहरू गएको पाँच वर्षको राजनीतिक उतारचढावमा तितरवितर भए ।
आफ्नै अलमल, अकर्मन्यता र अस्पष्ट राजनीतिक कार्यदिशाका कारण ती पाँच वर्षमा कहाँ पुगे त्यो हामी सबैलाई थाहा नै छ । ।
अहिलेको विकल्प बनेर उदाउँदै गरेका व्यक्ति र शक्तिलाई भने वैकल्पिक राजनीतिको त्यो विगत निकै शिक्षाप्रद हुनसक्छ ।
उनीहरुले यसबाट शिक्षा लिएर पार्टी र कार्यकर्ता जोगाउँदै जनताको मन अझै जित्ने काम गर्दै लैजानु आवश्यक छ । नत्र फेरि पाँच वर्षमा ‘हिरो’बाट ‘जिरो’ हुनेछन् र जनताले फेरि नयाँ नेतृत्व खोज्ने छन् ।
अन्ततः यहि पृष्ठभूमिमा स्वतन्त्र पार्टीको उदय भयो । तर यसले दिने ‘डेलिभरी’ले यसको भविष्य निक्र्यौल गर्नेछ ।