नवनिर्वाचित डा. सुनिल शर्माले गरे निशुल्क उपचार गर्ने ५० शैयाको क्याबिनको उद्घाटन
मोरङ—प्रतिनिधिसभाको सदस्य पदमा नवनिर्वाचित मोरङ- ३ का सांसद एवम् कांग्रेस नेता डा. सुनीलकुमार शर्माले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गरेका छन् ।
चुनावमा मतदातासँग भोट माग्ने क्रममा ५० शैया क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गरेअनुसार विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र शर्माले नोबेल अस्पतालमा सेवा शुभारम्भ गरेका हुन् ।
आइतबार मतदाता लक्षित उक्त सेवा शुभारम्भ गर्दै डा. शर्माले भविष्यमा अझ बिस्तार गरिने बताए । 'हिजो सिफारिस चाहिन्थ्यो, राजनीतिक रुपमा सम्पर्क नभएकाहरूले सेवा लिन सक्नुहुन्न थियाे । अब मोरङ ३ का बिरामीले मतदाता परिचयपत्र देखाएर नै यो सेवा पाउनेछन्' उनले भने ।
साथै डा. शर्माले निर्वाचनमा जनतासामु गरेका हरेक बाचा पुरा गर्ने गरि काम सुरु भएको बताएका छन् । जनताले निकै ठुलो विश्वास र भरोसाका साथ आफूलाई निर्वाचित गरेको भन्दै उनले आफू जनताको त्यो विश्वास र भरोसा टुट्न नदिने गरि काम गर्ने बताए ।
जनतासंग मत लिने र एकै पटक पाँच वर्षपछि भोट माग्न आउने प्रवृति विरुद्ध जनताले भोट दिएका कारण जनताको त्यो आशिर्वाद सधैं शिरमा राखेर हिँड्ने शर्माको भनाई थियो ।