Nic Ad Nic Ad
Nic Ad Nic Ad

सडक मर्मतमा यस वर्ष ५ अर्ब २५ करोड खर्चिँदै, किन सुध्रिँदैन सडकको गुणस्तर ?

सोमबार, मंसिर १२, २०७९

काठमाडौँ– चालू आर्थिक वर्ष २०७९÷०८० मा सरकारले सडक मर्मत तथा सम्भारतर्फ ५ अर्ब २५ करोड खर्च गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले हेर्ने रणनीति र राष्ट्रिय सडक मर्मत तथा सम्भारका लागि उक्त बजेट छुटाइएको हो ।

चालू आवमा खास गरी पटके सडक मर्मत, आकस्मिक मर्मत सम्भार, आवधिक मर्मत सम्भारतर्फ सो बजेट खर्च हुने भएको हो ।  पटके मर्मत सम्भारतर्फ एक अर्ब, आकस्मिक मर्मत सम्भारमा एक अर्ब ४० करोड र आवधिक मर्मत सम्भारतर्फ २ अर्ब ८५ करोड रकम विनियोजन भएको हो ।

सो बजेटबाट सडक विभागअन्तर्गत पर्ने ठुला र रणनीतिक सडकको मर्मत गरिनेछ । हालसम्म मर्मत सम्भारमा करिब २५ प्रतिशत प्रगति हासिल गरिएको सडक विभागअन्तर्गत मर्मत सम्भार शाखाका सिनियर डिभिजन इन्जिनियर विनोद भट्टराई ले क्यानडा नेपाललाई जानकारी दिए ।

उनले विभागअन्तर्गत पर्ने राष्ट्रिय राजमार्गको मर्मत सम्भारका लागि एकीकृत सडक मर्मत परियोजना अन्तर्गत काम भइरहेको बताए । यस वर्ष आवधिक मर्मततर्फ बजेट केही बढाइएको छ । गत आव २०७८÷०७९ मा आवधिकतर्फ २ अर्ब २० करोड बजेट विनियोजन भएको थियो ।

खास गरी, बिग्रेका, भासिएका, टुक्रिएका र ओभरले गर्नुपर्ने सडक आवधिक मर्मत सम्भारअन्तर्गत ७५० किलोमिटर गर्ने यस वर्षको लक्ष्य छ ।  धेरैजसो ठेक्का लागिसकेको र कपितय सडक छेउछाउ सफा गर्ने काम र कतै पिच गर्ने काम समेत भइरहेको उनले बताए ।

गत आवमा खर्चियो ४ अर्ब २० करोड

गत आवमा आकस्मिक मर्मत सम्भारमा ८५ करोड बजेट छुटाएकोमा ९५ प्रतिशत बजेट खर्च भएको थियो । त्यस्तै, पटके मर्मत सम्भार ४८ सय किलोमिटर गर्ने योजना थियो । बजेट सवा अर्ब हाराहारीमा थियो । त्यसमध्ये करिब ६० प्रतिशत वित्तीय प्रगति भएको देखिन्छ । 

आवधिक मर्मत सम्भारतर्फ गत आवमा ६७० किलोमिटर गर्ने लक्ष्य गरिएको ६५ प्रतिशत वित्तीय प्रगति भएको छ । सो आवमा आवधिकतर्फ २ अर्ब २० करोड बराबर बजेट छुटाइएको थियो । 

सरकारले वर्षेनी सडक मर्मत तथा सम्भारमा अर्बौ रकम खर्चिए पनि सडकको गुणस्तर अपेक्षित रूपमा सुध्रिन सकेको छैन । अहिले पनि रणनीतिक सडक र राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी र उबडखाबड देखिने अवस्था छ । सडकको गुणस्तरमा सुधार हुन सकेको छैन । काठमाडौँ उपत्यका र उपत्यकाबाहिरका रणनीतिक सडक व्यवस्थित र सुरक्षित छैनन् । सडकको मर्मत र सम्भारमा लापरबाही र अनुगमन नहुनु कारणले पनि सडकको गुणस्तरमा सुधार आउन सकेको छैन ।

पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य वर्षेनी सडक मर्मत र सम्भारमा अर्बौ खर्च भए पनि गलत डिजाइनका कारण सडकको अवस्थामा सुधार हुन नसकेको बताउँछन् । सडकको गुणस्तरका हिसाबले नेपाल उच्च जोखिममै रहेको उनको भनाइ छ ।

देशभरका सबै सडक सञ्जाल सडक विभागले मात्रै हेर्दैन । अन्य प्रदेश र स्थानीय सरकार मातहतका निकायले पनि सडक मर्मत सम्भारमा बजेट छुटाएका छन् । विभागले देशभर साढे १४ हजार किलोमिटर सडकको मात्र मर्मत सम्भार गर्ने गर्छ । सडक बोर्डमार्फत सडक मर्मत तथा सम्भारका लागि केही बजेट स्थानीय सरकारमा जान्छ ।

सडक विभागले पनि प्रदेश र स्थानीय मातहतका सडक मर्मत सम्भारमा नीतिगत र प्राविधिक सहयोग गरिरहेको भट्टराईले जानकारी दिए ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ०१:४०
प्रतिक्रिया दिनुहोस्