महापुरूष’ले गर्यो १० करोडको व्यापार
काठमाडौं–फिल्म ‘महापुरूष’ले प्रदर्शनको चौथो सातामा दश करोड बढी ग्रस कलेक्सन गरेको छ ।
महापुरुषको टीमले सोमबार पत्रकार सम्मेलन गर्दै प्रदर्शनको चौथो सातासम्म १० करोडको व्यापार गरेको जानकारी दिएको छ । निर्माता दीपेश खत्रीले भने,‘हामीले पहिलो साता पाएको शो सङ्ख्यामा खासै परिवर्तन आएको छैन । हामीले पाएको शोहरू मल्टिप्लेक्समा अझैँ भरिभराउ छन् ।’
यसवर्ष कबड्डी ४ र प्रेम गीत ३ पछि १० करोड ग्रस गर्ने यो तेस्रो चलचित्र बनेको छ । नेपाली चलचित्रले हलमै यत्तिको व्यवसाय गर्नुलाई ‘ब्लकबस्टर’ मानिन्छ ।
निर्माता खत्रीका अनुसार फिल्मले पहिलो साता उपत्यकाका हलमा तीन करोड छ लाख ६५ हजार र उपत्यका बाहिरका हलमा एक करोड पचास लाख १२ हजार, दोस्रो सातामा उपत्यकामा एक करोड ८९ लाख एक हजार र बाहिर ९४ लाख १७ हजार, तेस्रो सातामा उपत्यकामा ९६ लाख तीन हजार र बाहिर ४५ लाख सात हजार तथा चौँथो सातामा उपत्यकामा ८७ लाख सात हजार र मोफसलमा ३९ लाख आठ हजारको व्यापार गरेको छ ।
स्वदेशमा मात्र नभइ विदेशमा समेत यो चलचित्रले राम्रो दर्शक पाइरहेको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । उनकाअनुसार नेपालसँगै अमेरिका, क्यानाडा, अष्ट्रेलियामा प्रदर्शन भइरहेको छ । अमेरिकामा यसले ५१औँ दिन मनाउने सम्भावना रहेको कार्यकारी निर्माता बानियाँले बताए ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा छन् ।