काठमाडौँमै गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी
काठमाडौँ । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेको छ रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर कुमार लामिछाने ।
नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक १० लाख आम्दानी गर्दै आएको हो।
पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं २०७७ जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी गाई र भैँसीपालन गर्दै आएका छन् । लामिछानेले १५ करोड लगानीमा सुरुको समयमा ३० भैँसीबाट आफ्नो व्यवसाय सुरुआत गरेका हुन् । अहिले उनको गोठमा एक सय ५० भैँसी र ७० गाई छन् । बीचको समयमा उनले ३ सयसम्म भैँसीपालन गरे पनि अहिले धेरै भैँसी बिक्रीवितरण गरेर गाईसमेत पालन सुरु गरेका छन् ।
विसं २०७२ देखि सिभिल इन्जिनियर पेसा अँगालेका लामिछानेकी श्रीमती सङ्गीता पनि इन्जिनियर नै हुन्। ‘सुरुमा म इन्जिनियर भएका कारण कन्स्ट्रक्सनको काम मात्र गर्थें, विगत ३ वर्षदेखि इन्जिनियर पेसासँगै भैँसी र गाईपालन व्यवसाय सुरु गरेको हुँ, यस व्यवसायबाट राम्रै आम्दानी भएको छ’, लामिछाने भन्छन्।
उनको गोठबाट हाल दैनिक एक हजार लिटर दूध उत्पादन हुन्छ। उत्पादन भएको दूधमध्ये ५ सय लिटर काठमाडौँका विभिन्न दूध डेरीमा पठाउने र बाँकी ५ सय लिटर दूध व्यक्तिको घर–घरमा पु¥याउने गरेको उनले सुनाए।
लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर एक सय ५० र गाईको दूधको मूल्य प्रतिलिटर एक सय १० रहेको छ । उनको फार्ममा हाल २० कर्मचारी कार्यरत छन् । दूध बिक्रीबाट मासिक ३० देखि ३५ लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर १० लाख बचत हुने गरेको उनले बताए। गाई र भैँसीलाई उनहरुले पराल र दाना खुवाउँदै आएको छ । गाई र भैँसीको मलसमेत उनले बिक्री गर्छन् ।
लामिछानेले काठमाडौँमा गाईपालन र भैँसीपालनबाट राम्रो आम्दानी गर्न थालेपछि गृहजिल्ला गोरखामा समेत उक्त फार्मको शाखा विस्तार गरेको छ। उनले गोरखाको सिरानचोक–७ खहरेमा ५० भैँसी र ५० बाख्रापालन गरेको छ।
यस्तै सोही ठाउँमा २ सय रोपनी क्षेत्रफलमा तरकारी खेतीसमेत गरिएको छ। गोरखामा भने चारजनालाई रोजगारी दिएको उनले बताए।