डेब्युमै ३ सिट जित्न सफल
काठमाडौँ– दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रूपमा उदाएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको नागरिक उन्मुक्तिले कैलालीका ५ वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये ३ र १० वटा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये ५ वटा सिटमा विजय हासिल गरेको छ ।
गत पुसमा निलम्बित पूर्वसांसद रेमश चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा उक्त दल दर्ता भएको छोटो समयमै निर्वाचनमा थारु बाहुल्यता रहेको क्षेत्रमा आफ्नो पक्षमा नतिजा ल्याउन सफल भएको हो । ढकीया निर्वाचन चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेकोे नागरिक उन्मुक्तिले प्रदेशसभाका धेरैजसो निर्वाचन क्षेत्रमा आफ्नो उपस्थिति देखाएको थियो । कैलालीमा मात्रै नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ८७ हजार १२ मत र प्रतिनिधिसभा सदस्यतर्फ ८१ हजार ६२८ मत प्राप्त गरेको छ । समानुपातिकतर्फको नतिजा अझै आउने क्रममा छ । पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेको कैलालीमा तीन लाख ३७ हजार तीन सय ७३ मत खसेको थियो ।
कैलाली–१, २ र ३ नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ भने कञ्चनपुर– १ र २ मा समेत आफ्नो प्रभाव देखाएको छ । कैलाली–१ मा पार्टी अध्यक्षसमेत रहेकी उम्मेदवार रञ्जिताले प्रतिनिधिसभा सदस्यमा जित्दा सोही क्षेत्रमा रहेको (क) मा कैलाश चौधरी र (ख) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका छन् ।
त्यसैगरी कैलाली–२ मा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी निर्वाचित भए भने सो (ख) मा सोही पार्टीका रामेश्वर चौधरी निर्वाचित भएका छन् ।
त्यस्तै कैलाली–३ मा पनि उन्मुिक्त पार्टीले नै कब्जा जमायो । यहाँ प्रतिनिधिसभातर्फ गङ्गा चौधरी निर्वाचित भइन् भने क मा घनश्याम चौधरी र (ख) मा खुसीराम चौधरी विजयी भए ।
२०७४ सालको निर्वाचमा कैलालीमा ठूलो दल बनेको एमाले यस पटक शून्यमा झरेको छ भने कांग्रेसका २ उम्मेदवार निर्वाचित भएका छन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि नागरिक उन्मुिक्त पार्टी कैलालीमा दोस्रो ठूलो दल बनेको थियो । यहाँका १३ वटा पालिकामध्ये स्थानीय तहको निर्वाचनमा पार्टीले ४ वटा पालिकामा जितेको थियो ।