३ महिनामा प्राधिकरणले कमायो साढे ८ अर्ब
काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा साढे ८ अर्ब रुपैयाँ बराबरको नाफा कमाएको छ।
चालु आवको साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड आम्दानी गरेको छ। आवको पहिलो ३ महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड (करअघि) नाफा कमाएको हो।
सूचनाको हकसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरिएको चालु आवको ३ महिनामा सम्पादित प्रमुख क्रियाकलाप समेटिएको विवरणअनुसार, प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड बराबरको विद्युत् खरिद गरेको छ।
आफ्नो स्वामित्वमा रहेका विद्युत्गृहबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत् देशभित्र बिक्री गरी खुद रु २२ अर्ब २० करोड आम्दानी भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी आवको पहिलो ३ महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ।
आव २०७२–७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ । आव २०७६–७७ मा ११ अर्ब ७५ करोड पुगेको प्राधिकरणको नाफा आव २०७७–७८ मा घटेर ६ अर्ब ९ करोडमा सीमित भएको थियो। गत आव २०७८–७९ मा प्राधिकरणले नाफालाई बढाएर १६ अर्ब १६ करोड बराबर पुर्याएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिकरुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रण लगायतले गर्दा चालु आवको पहिलो ३ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको जानकारी दिए ।
कार्यकारी निर्देशक घिसिङले नाफाबाट प्राप्त रकमलाई विद्युत् खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउन प्रसारण र वितरणतर्फको पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिएको उल्लेख गरे।
उनले भने, “आगामी दिनमा विद्युत् खपत बढाउन, उपभोक्तालाई परपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि ४–५ वर्षभित्रमा ३ देखि ४ खर्ब बराबरको लगानी गर्नु पर्नेछ, नेपाल सरकारसँग स्रोतको सीमितताका कारण पर्याप्त बजेट पाउनसक्ने अवस्था छैन, त्यसैले हरेक वर्षको नाफाबाट उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिरहेका छौँ।”