Nic Ad Nic Ad
Nic Ad Nic Ad

तीन महिनामा विद्युत् प्राधिकरणको नाफा साढे आठ अर्ब

बिहीबार, मंसिर १५, २०७९

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । 

चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार प्राधिकरणले विद्युत् बिक्री, ब्याज तथा अरू आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । यी तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले आठ अर्ब ५० करोड रुपैयाँ (करअघि) नाफा कमाएको हो ।

प्राधिकरणले यो अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत् खरिद गरेको छ । आफ्नो स्वामित्वमा रहेका विद्युत्गृहरूबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत् देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ । 

आव २०७२/७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ । आव २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको प्राधिकरणको नाफा आव २०७७/७८ मा घटेर ६ अर्ब नौ करोडमा सीमित भएको थियो । आव २०७८/७९ मा प्राधिकरणको नाफालाई बढेर १६ अर्ब १६ करोड रुपैयाँ पुगेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नाफाबाट प्राप्त रकम विद्युत् खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउन प्रसारण र वितरणतर्फको पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिएको उल्लेख गरे ।

“आगामी दिनमा विद्युत् खपत बढाउन, उपभोक्तालाई परपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि चाररपाँच वर्षभित्रमा तीनरचार खर्ब रुपैयाँ लगानी गर्नुपर्नेछ । नेपाल सरकारसँग स्रोतको सीमितताका कारण पर्याप्त बजेट पाउन सक्ने अवस्था छैन,” उनले भने, “त्यसैले हरेक वर्षको नाफाबाट उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिरहेका छौँ ।”

 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०८:४०
प्रतिक्रिया दिनुहोस्