Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुजरात निर्वाचनः अपरान्हसम्म करिब ५० प्रतिशत मतदान

बिहीबार, मंसिर १५, २०७९

काठमाडौँ– गुजरात राज्यको विधानसभाका लागि भएको निर्वाचनको पहिलो चरणको मतदान बिहीबार सम्पन्न भएको छ । अपराह्न ३ बजेसम्म झण्डै ५० प्रतिशतको हाराहारी अर्थात् कूल ४८.४८ प्रतिशत मतदाताले मतदान गरेका छन् । कच्छ, सौराष्ट्र र दक्षिण गुजरातका १९ जिल्लाका ८९ निर्वाचन क्षेत्रमा बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु भएको थियो । 

 

निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्मको तथ्याङ्कअनुसार तापीमा सबैभन्दा बढी ६४.२७ प्रतिशत मतदान भएको छ भने नर्मदामा ६३.८८ प्रतिशत मतदान भएको छ भने जामनगरमा सबैभन्दा कम ४२.२६ प्रतिशत मतदान भएको छ ।

 

यहाँ बिहीबार कूल दुई करोड ३९ लाख ७६ हजार ६७० मतदाता साँझ ५ बजेसम्म मतदान गर्नेछन् र पहिलो चरणको निर्वाचनमा ७ सय ८८ उम्मेदवारको भाग्यको फैसला गर्नेछन् । गुजरातका कूल मतदातामध्ये एक करोड २४ लाख ३३ हजार ३६२ पुरुष, एक करोड १५ लाख ४२ हजार ८११ महिला र ४९७ तेस्रो लिंगी रहेका छन् । 

 

मतदानका लागि ८० बर्षभन्दा बढी उमेर समूहका करिब नौ लाख ८० हजार नागरिक सहभागी हुनसक्नेछन् भने १०० बर्षभन्दा बढीका करिब १० हजार मतदाता रहेका बताइएको छ । आयोगका अनुसार १८ देखि १९ वर्ष उमेर समूहका पाँच लाख ७४ हजार ५६० मतदाता छन् भने ९९ वर्षमाथिका चार हजार ९४५ मतदाता छन् । यहाँ १६३ जना गैर–आवासीय भारतीय मतदाता छन्, जसमध्ये १२५ पुरुष र ३८ महिला छन् ।

 

कूल १४ हजार ३८२ मतदान केन्द्रमध्ये शहरी क्षेत्रमा तीन हजार ३११ र ग्रामीण क्षेत्रमा ११ हजार ७१ मतदान केन्द्र रहेका छन् । यहाँका प्रमुख दलका प्रभावशाली नेतामध्ये गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घाटलोडियाबाट, आपका मुख्यमन्त्रीका उम्मेदवार इसुदन गढवी खम्भलियाबाट, पूर्व काङ्ग्रेस नेता तथा भाजपाका हार्दिक पटेल विरमगामबाट प्रतिस्पर्धा गरिरहेको छ भने पूर्व काङ्ग्रेस नेता तथा भाजपाका उम्मेदवार अल्पेश ठाकोर गान्धीनगर दक्षिणबाट चुनावी मैदानमा उत्रिएका छन् ।

 

गुजरातमा दोस्रो चरणको निर्वाचन डिसेम्बर ५ मा हुँदैछ । मतगणनाको नतिजा ८ डिसेम्बरमा घोषणा गरिने बताइएको छ । हिमाचल प्रदेश विधानसभाका लागि यस पहिले नै भएको चुनावी परिणाम पनि सोही दिन घोषणा गरिने निर्वाचन आयोगले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार