बारामा हत्या अभियोगमा १६ वर्षीय किशोर पक्राउ
काठमाडौँ– बारामा हत्या गरेको अभियोगमा १६ वर्षीय एकजना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उनी बाराको कोल्हवी नगरपालिका वडा नम्बर ११ रामपुर्वा टोलका हुन् । किशोरको उमेर अठार वर्ष नपुगेकोले प्रहरीले उनको परिचय खुलाएको छैन ।
प्रहरीका अनुसार मंसिर १३ गते मंगलबार राति ती बालकले गाँउकै ४६ वर्षीय परीक्षण चौधरीलाई चिर्पटले हानेर हत्या गरेका छन् । हत्यापछि शव स्थानीय सियाराम चौधरीको गोठ पछाडि खाल्डो खनेर गाडेका थिए ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा मंगलबार राति ती १६ वर्षिय किशोर स्थानीय राम पुकार चौधरीको खाजा नास्ता पसलबाट रक्सी सेवन गरि घर फर्कदै थिए । बाटोमा परिक्षण चौधरीले उनलाइ रोकेर अप्राकृतिक मैथुन गर्न खोजेका थिए । ती बालकले प्रतिकारका क्रममा सिसौंको चिर्पटले प्रहार गरेका थिए । चिर्पटले लागेर परिक्षणको घटनास्थलमै मृत्यु भएको प्रहरीले दाबी गरेको छ ।