कर्णाली प्रदेशमा एचआईभी सङ्क्रमण बढ्दो
काठमाडौँ– पछिल्लो समय कर्णाली प्रदेशमा एचआइभी सङ्क्रमण बढ्दै गइरहेको छ । हाल प्रदेशभर करिब सात सय एचआईभी सङ्क्रमित रहेका छन् । पाँच जिल्लामा छ सय ९० एचआइभी सङ्क्रमित अहिले नियमित उपचारमा रहेका छन् ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार सबैभन्दा धेरै एचआइभी सङ्क्रमित सुर्खेतमा छन् भने अन्य पाँच जिल्ला जुम्ला, हुम्ला डोल्पा, मुगु र जाजरकोटमा भने एचआइभी सङ्क्रमितको सङ्ख्या थोरै देखिन्छ । सुर्खेतमा तीन सय ६२ एचआइभी सङ्क्रमित देखिँदा दैलेखमा दुई सय तीन, रुकुम–पश्चिममा ५९, कालिकोटमा ४० र सल्यानमा २६ सङ्क्रमित रहेको निर्देशनालयका सूचना अधिकारी पद्मबहादुर केसीले बताए ।
एचआइभी सङ्क्रमित नखुल्ने भएकाले सङ्ख्या योभन्दा बढी हुन सक्ने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी केसीले जानकारी दिए। अहिले पनि सङ्क्रमित समाजमा अपहेलित हुने डरले नखुल्ने गरेकाले सङ्क्रमण भित्रभित्रै फैलिएको उनले बताए। प्रदेशमा महिलाभन्दा पनि पुरुष एचआइभी सङ्क्रमित बढी रहेको बताइएको छ ।