काठमाडौं उपत्यकामा अधिकांश सार्वजनिक सवारी प्रदुषण मापदण्ड विपरीतका
काठमाडौँ– काठमाडौं उपत्यकाका सार्वजनिक सवारीसाधनहरु प्रदूषण मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ । शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको टिमले सवारीको प्रदूषण परीक्षण गरेको थियो ।
परीक्षण गरेका अधिकांश सवारीसाधनहरु प्रदूषण परीक्षणमा फेल भएको पाइएको विभागले जनाएको छ । विभागले गरेको ५४ वटा सवारीसाधनको प्रदूषण परीक्षणमा ३८ वटा सवारीसाधन मापदण्ड विपरीतको यानित्र अवस्थामा गुडिरहेको भेटिएको हो ।
वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले प्रदूषण परीक्षणमा फेल हुनेहरुलाई मर्मत गरेर प्रदूषण पास हुने गरी चलाउन समय दिएको बताए । प्रदूषण फेल हुनेहरुले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनःपरीक्षण गराएर पास भएपछि मात्रै कागजपत्रहरु फिर्ता लैजान पाउने उनले बताए ।