जाडोमा बालबालिकालाई कसरी सुरक्षित राख्ने ?
काठमाडौँ–गर्मीको मौसम सकिएको छ । चिसोको समय सुरु भएको छ । मङ्सिर १५ कटेपछि अलि बढी नै जाडो हुने गर्छ । मौसम परिवर्तन र गर्मी र चिसोसँगै मानिसको शरीरमा पनि विभिन्न प्रकारका परिवर्तनहरू देखा पर्छन् । जाडो मौसममा विशेष गरी रुघाखोकीले हरेक उमेर समूहलाई सताउने गर्दछ । मानिसहरूले यसलाई सामान्य रूपमा लिने गर्दछन् । तर समयमा यसबारे सचेत हुन सकिएन भने यसले थप समस्या निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन् ।
मौसम परिवर्तनको समयमा अत्यन्तै चिसो बढ्ने भएकाले स्वास्थ्यमा देखिने सबै समस्या यही कारण नै भएको हो भनेर पुष्टि गर्न कठिन हुन्छ । चिसो बढ्ने भएकाले यो समयमा बासी खानेकुराहरू तथा जथाभाबी खानेकुराहरू नखाने, चिसो खानेकुरा लगायतका खानपानमा ध्यान नदिँदा सामान्य बिरामी देखि स्वास्थ्यमा गम्भीर समस्या पनि देखा पर्ने सक्ने मध्यविन्दु जिल्ला अस्पताल नवलपुरका डाक्टर सुशील ठाकुर बताउँछन् ।
बालबालिकालाई स्वास्थ्य समस्या वर्षभरि नै देखिन सक्छ । तर मौसम परिवर्तनको समयमा भने यसबाट थप सचेत रहनु पर्ने डाक्टर ठाकुर बताउँछन् । जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरूको समस्या हो । रुघा–खोकीको प्रमुख जटिलता भनेको निमोनिया हुनु हो । एक अध्ययन अनुसार विश्वमा प्रत्येक वर्ष पाँच वर्ष मुनिका ९ लाख २० हजार बालबालिकाको निमोनियाको कारण मृत्यु हुने गर्छ ।
जाडो मौसममा बालबालिकामा मौसमी रुघा–खोकीको समयमै राम्रोसँग उपचार नगर्दा निमोनिया हुन सक्छ । यस्तो मौसममा राम्रोसँग बाक्लो कपडा नलगाउँदा पनि चिसो लाग्छ । चिसो लागेका बालबालिकालाई चिसो खानेकुरा खुवाउँदा थप चिसो बढ्ने र स्वास्थ्यमा समस्या देखिने भएकाले सकेसम्म तातो खानेकुराहरू खुवाउनु पर्ने डाक्टर ठाकुरले बताए ।
चिसोमा बालबालिकालाई न्यानो राख्न हातखुट्टा र टाउकोमा पनि चिसो नपस्ने गरी कपडा लगाइदिनुपर्छ । चिसोको समयमा प्रशस्त मात्रामा झोल खानेकुरा खुवाउनुपर्छ । चिसोबाट बचाउन मनतातो खानेकुरा खुवाउनुपर्छ । बालबालिकालाई जाडो मौसममा हुने रोगबाट बचाउन न्यानोका साथै स्वास्थ्यकर र पोषणयुक्त खानपान हुनुपर्छ । सरसफाइमा कमी गर्नु हुँदैन । चिसो नलाग्ने गरी बालबालिकालाई घरभित्रै सक्रिय बनाउने खेलहरू खेलाउनु पर्छ । तर यदि रुघाखोकी लागेको छ भने चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गराउनु पर्ने डाक्टर ठाकुरले बताए ।